काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच पछिल्लो राजनीतिक परिस्थितिबारे टेलिफोन वार्ता भएको छ।

दुई नेताबीचको कुराकानीमा हालको राजनीतिक अस्थिरता, आन्दोलनपछि बनेको शक्ति सन्तुलन र पार्टीभित्रको गतिविधिबारे छलफल भएको स्रोतले जनाएको छ। तर, भण्डारीको एमाले सदस्यता नवीकरणको विषय भने वार्तामा उठेन।

ad

वार्ताका क्रममा अध्यक्ष ओलीले आफूलाई अहिले कठिन परिस्थितिमा सहयोगको आवश्यकता परेको भन्दै भण्डारीसँग प्रत्यक्ष समर्थन मागेका थिए। 'यतिबेला मलाई तपाईंको सहयोग चाहिएको छ, सहयोग गर्नुहोस्,' ओलीले भनेको स्रोतले बतायो।

भण्डारीले ओलीको आग्रह सुनेपछि सहयोगको कुरा भन्दा पनि नेतृत्वको सहजीकरण र एकताको वातावरण निर्माण गर्न सुझाव दिएकी थिइन्। 'सहयोग आदानप्रदानको कुरा पछि होस्, अहिले नेतृत्व सहज बनाउनेतर्फ ध्यान दिनुहोस्,' उनले ओलीलाई भनेकी थिइन्।

ओलीले आफ्नो नेतृत्वमाथि राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरूको प्रहार भइरहेको जिकिर गर्दा भण्डारीले विदेशी हस्तक्षेपको नाम लिनुभन्दा आन्दोलनका सन्देश र जनभावनालाई बुझेर अघि बढ्न सुझाव दिएकी थिइन्।

हाल ओली पार्टीभित्र असन्तुष्ट रहेका नेताहरूसँग अनौपचारिक संवाद बढाउँदै छन्। उनले पार्टी छोडेर गएकाहरूलाई पनि ‘घर फर्कन’ आग्रह गरेका छन्।

पार्टीभित्र बढ्दो असन्तुष्टि र बाह्य दबाबबीच ओलीले भण्डारीसँगको वार्तालाई ‘सहयोगी सन्देश’को रूपमा लिएको बताइन्छ।