
काठमाडौं — नेपाली कांग्रेसका नेताहरूले पार्टीको विधानअनुसार आगामी मङ्सिरभित्र नियमित महाधिवेशन सम्पन्न नभए केन्द्रीय समितिका सबै पदाधिकारी र सदस्यले सामूहिक राजीनामा दिनुपर्ने माग गरेका छन्।
कांग्रेस १५औँ महाधिवेशन दबाबमूलक भेला आज राजधानीमा सम्पन्न भएको हो। भक्तपुर जिल्ला सभापति तथा पूर्वसांसद दुर्लभ थापाको सभापतित्वमा भएको कार्यक्रममा सहभागी नेताहरूले विधानले तोकेको समयसीमा उल्लङ्घन हुँदै गएको भन्दै नेतृत्वको जवाफदेहीता माग गरेका हुन्।
महोत्तरी सभापति नागेन्द्र यादव, रौतहट सभापति जितेन्द्र यादव, बागलुङका सभापति जीत शेरचन, कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख तथा पूर्वक्षेत्रीय सभापति उपेन्द्र कार्की, क्षेत्रीय सभापति जयकृष्ण महर्जनलगायतका नेताहरूले मङ्सिरभित्र महाधिवेशन हुन नसके केन्द्रीय समिति भङ्ग गरी तदर्थ समिति गठन गर्नुपर्ने सुझाव दिएका छन्।
नेताहरूले नेतृत्व तहमा निरन्तरता र पदासीनताको संस्कार जरा गाड्दै गएको भन्दै पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको टिप्पणी गरे। उनीहरूले पार्टीको निर्णय प्रक्रिया पारदर्शी र सामूहिक बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दीपक भट्टराई, नेपाल तरुण दलका केन्द्रीय सदस्य देव लामा, नेविसंघका पूर्वकेन्द्रीय सदस्य बद्री अर्याल र दीपक सोनी, कांग्रेस महाधिवेशन प्रतिनिधि गीता गुरुङ, तथा पाटन बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति लाओसकुमार राईलगायतले निरन्तर नेतृत्व र युवा प्रतिनिधित्वको अभावका कारण कांग्रेस कमजोर हुँदै गएको धारणा राखे।
भेलाका सहभागीहरूले युवा पुस्ताको प्रतिनिधित्व सुनिश्चित गर्ने, संगठन सुदृढीकरणलाई प्राथमिकता दिने र आगामी निर्वाचन तयारी नियमित महाधिवेशनमार्फत गर्नुपर्ने निष्कर्ष निकाले।









Facebook Comments