
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) विरुद्ध राष्ट्रिय युवा संघ नेपाल ले साइबर ब्युरोमा आधिकारिक उजुरी दिएको छ।
संघले साहले केही दिनअघि सामाजिक सञ्जालमा गरेका अभिव्यक्तिहरूले नेपालका प्रमुख राजनीतिक दल, छिमेकी मुलुक र मित्रराष्ट्रहरूविरुद्ध अनावश्यक टिप्पणी भएको भन्दै कारबाहीको माग गरेको हो।
संघका उपाध्यक्ष महाराज गुरुङले भोटाहिटीस्थित नेपाल प्रहरी साइबर ब्युरोमा पुगेर बिहीबार औपचारिक उजुरी दर्ता गराएको जानकारी दिएका छन्।
'हामीले बालेन साहले सार्वजनिक रूपमा लेखेका अभिव्यक्तिहरूले नेपालको अन्तर्राष्ट्रिय छवि र कूटनीतिक सम्बन्धमा असर पु-याउने देखिएकोले कानुनी अनुसन्धान माग गरेका छौं,' गुरुङले बताए।
उनका अनुसार उजुरी प्रहरी नायब महानिरीक्षक नवीन अर्याललाई बुझाइएको हो। 'उहाँले कानुनी अवस्था अध्ययन गरेर आवश्यक निर्णय गर्ने आश्वासन दिनुभयो,' उनले भने।
साइबर ब्युरोले उजुरी दर्ता भएको पुष्टि गर्दै आवश्यक तथ्य र अभिव्यक्ति विश्लेषणपछि अनुसन्धान अघि बढाइने जनाएको छ।
साहले केही दिनअघि फेसबुक र एक्स (ट्विटर) मार्फत दलहरू, छिमेकी देश र नेपालका नीति–निर्मातामाथि टिप्पणी गरेका थिए, जसले राजनीतिक वृत्तमा चर्को विवाद उत्पन्न गरेको थियो।
ब्युरोका एक अधिकारीका अनुसार, उजुरी प्रारम्भिक अध्ययनपछि इलेक्ट्रोनिक ट्रान्जेक्सन ऐन २०६३ (ईटा ऐन) अन्तर्गतका प्रावधानमा परीक्षानिर्माण गरिनेछ।









Facebook Comments