
काठमाडौं । विघटित नेकपा (एकीकृत समाजवादी) का पूर्वमहासचिव घनश्याम भुसाल नेतृत्वको समूहले पार्टी पुनर्गठनका तयारीलाई तीव्र बनाएको छ ।
माओवादीसहितका दलहरूसँग एकताको निर्णय गरेपछि अध्यक्ष माधवकुमार नेपालप्रति असन्तुष्ट रहेको भुसालपक्षले हाल शृंखलाबद्ध बैठक र भेला आयोजना गर्दै देशभरका कार्यकर्तालाई आफ्नो पक्षमा उभ्याउने प्रयास जारी राखेको छ ।
बिहीबार सम्पन्न बैठकमा भुसाल समूहले मुख्यतः चार विषयमा विस्तृत छलफल गरेको नेता दामोदर अर्यालले बताए । उनका अनुसार बैठकको पहिलो एजेन्डा आगामी राष्ट्रिय भेला आयोजना गर्ने विषयमा केन्द्रित थियो ।
'हामीले मंसिरको पहिलो साता काठमाडौंमा राष्ट्रिय भेला गर्ने तयारी गरेका छौं,' अर्यालले भने, 'भेलाको ठ्याक्कै मिति शुक्रबार टुंगो लगाइनेछ ।'
भेला देशका सबै जिल्लाबाट प्रतिनिधित्व हुने गरी आयोजना गरिने र त्यसमार्फत पार्टी पुनर्गठनको औपचारिक घोषणा गर्ने तयारी भइरहेको भुसाल पक्षको भनाइ छ ।
नेता अर्यालका अनुसार हाल ७७ वटै जिल्लामा करिब ८० प्रतिशत नेता–कार्यकर्ता आफ्नो पक्षमा रहेको निष्कर्ष बैठकले निकालेको छ । 'मेची–महाकालीसम्म सक्रिय धेरैजसो नेताहरू हामीसँग छन्,' उनले भने, 'अब केन्द्रदेखि प्रदेशसम्म नयाँ नेतृत्व संरचना तयार गर्दैछौं ।'
बैठकमा केन्द्रीय समितिको संरचना र सदस्य संख्या सम्बन्धी विषयमा पनि छलफल भएको थियो । भुसालपक्षले सयभन्दा बढी केन्द्रीय सदस्य नहुने गरी सानो तर चुस्त–दुरुस्त संगठन बनाउने तयारी गरेको छ ।
'हाम्रो उद्देश्य भद्दा टिम बनाउने होइन,' अर्यालले स्पष्ट पारे, 'जनपक्षीय रूपमा काम गर्ने, इमानदार र सिद्धान्तमा अडिग कार्यकर्तामात्र रहने दल बनाउनेछौं ।'
यसअघि बुधबारको पत्रकार सम्मेलनमार्फत भुसाल समूहले देशभरका असन्तुष्ट कार्यकर्तालाई नआत्तिन र नयाँ समाजवादी दिशाको पुनःसंरचनामा सहभागी हुन आह्वान गरेको थियो ।









Facebook Comments