काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले पार्टी कार्यकर्तालाई वास्तविक परीक्षा अब वकृत्व वा कागजमा होइन, व्यवहार र आन्दोलनमै हुने बताएका छन् ।

लुम्बिनी प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै पौडेलले अहिलेको राजनीतिक परिस्थितिमा पार्टीका कार्यकर्ताले जनताको पक्षमा दृढ रूपमा उभिएर आफ्नो जिम्मेवारी प्रमाणित गर्नुपर्ने समय आएको बताए ।

ad

'अब परीक्षा बैठक वा कोठामा होइन, सडकमा हुन्छ,' पौडेलले भने, 'जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न अग्रपङ्क्तिमा उभिन सक्नुपर्छ ।'

उनका अनुसार प्रतिनिधिसभा पुनर्स्थापना र प्रतिगमनविरुद्धको संघर्ष कार्यकर्ताको आन्दोलनमूलक प्रतिबद्धता परीक्षण गर्ने अवसर हो ।

पौडेलले आसन्न ११औं राष्ट्रिय महाधिवेशनलाई एमाले मात्र होइन, सिङ्गो देशको राजनीतिक भविष्य निर्धारण गर्ने निर्णायक मोडका रूपमा व्याख्या गरे । 'यो महाधिवेशन समृद्धि र समाजवादको यात्रासँग जोडिएको ऐतिहासिक अवसर हो,' उनले भने, 'हामीले देशलाई स्थायित्व, विकास र राष्ट्रिय एकताको बाटोमा अघि बढाउने जिम्मा लिएका छौं ।'

उनले दसौं महाधिवेशनले तय गरेको मापदण्डअनुसार प्रतिनिधि छनोट गर्न र संगठनलाई विचार, अनुशासन र एकताको आधारमा सुदृढ बनाउन आग्रह गरे ।

'एमालेमाथि अहिले विभिन्न कोणबाट प्रहार भइरहेका छन्,' पौडेलले भने, 'तर ती सबै चुनौतीलाई परास्त गर्दै हामीले जनताको भरोसा पुनःस्थापित गर्नुपर्छ ।'

बैठकमा पौडेलले पार्टीभित्र शुद्धीकरण, संगठन सुदृढीकरण, आगामी राजनीतिक कार्यक्रम र महाधिवेशन तयारीबारे विस्तृत निर्देशन दिएका थिए ।