
सर्वज्ञजंग खत्री, स्वर्णिमा श्रेष्ठ र निम्ति कुँवरले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । सिंगल्सको यु-८ ब्वाइजमा सर्वज्ञ र गल्र्समा स्वर्णिमा तथा यु-१० गल्र्समा निम्ति पहिलो भएका हुन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा सर्वज्ञले गगन श्रेष्ठलाई १०-७ र १०-७, स्वर्णिमाले वाणी राजभण्डारीलाई १०-६ र १०-७ तथा निम्तिले रजिशा जोशीलाई ६-१ र ६-४ को सोझो सेटमा पराजित गरे ।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगितामा महिला सिंगल्सको उपाधिका लागि शिभाली गुरुङ र स्वस्तिका विष्ट भिड्ने भएका छन् । शिभालीले सुनिरा थापालाई ६-२ र ६-० तथा स्वस्तिकाले प्रकृति श्रेष्ठलाई सीधा सेटमा ६-० र ६-२ ले हराए ।
पुरुष सिंगल्समा प्रदीप खड्काले आयुशमान हजुर घलेलाई ६-३ र ६-१, प्रणव मानन्धरले निहालजंगबहादुर थापालाई ६-० र ६-४, निसान श्रेष्ठले सक्षमविक्रम शाहलाई ६-२ र ६-० तथा राजवीर प्रधानले छेवाङ लामालाई ६-० र २-० (रिटायर्ड हर्ट) ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
यु-९ ब्वाइज सिंगल्समा कायान चालिसेले सोनाम घलेलाई ४-२ र ४-० तथा सर्वज्ञले आयान पन्तलाई ४-० र ४-० ले पन्छ्याउदै फाइनलमा पुगे । सो स्पर्धाको गल्र्समा निम्ति कुँवरले साहारा कायश्थलाई ४-० र ४-२ तथा अमिरा गुप्ताले हीरादेवी घलेलाई ४-० र ४-० ले पराजित गरी फाइनलमा स्थान सुरक्षित गरे ।
यु-१६ ब्वाइज सिंगल्समा असभसम्राट हाडाले सुरेन्द्र विकलाई ६-२ र ६-० तथा दर्शिल श्रेष्ठले साङ्गे रोकायालाई ६-३ र ६-० ले हराउदै फाइनलमा स्थान बनाए । यु-१० ब्वाइज सिंगल्समा कायान चालिसेले भिरल अग्रवालको चुनौती ६-२ र ६-४ ले समाप्त पार्दै फाइनल यात्रा तय गरे ।
यु-१२ ब्वाइज सिंगल्समा वेदान्त चालिसे, आरित मल्ल, सभ्यजंग कार्की र विश्वविशेष डल्लाकोटी सेमिफाइनलमा पुगे । सोही स्पर्धाको गल्र्समा सरा पन्तले स्वराह थापालाई ७-५, ६-७ र ६-३ तथा नाइरा घलेले अनुश्री ध्वजुलाई ६-३ र ६-४ ले हराउदै फाइनलमा पुगेका छन् ।
यु-१४ ब्वाइज सिंगल्समा साङ्गे रोका, आरित मल्ल, वेदान्त चालिसे र युभेनमान श्रेष्ठ सेमिफाइनलमा प्रवेश गरे । उक्त स्पर्धाको गल्र्समा स्वराह थापा, इरा खत्री, आयुशा जिसी र सरा पन्तले आ-आफ्नो प्रतिद्वन्द्वीलाई पाखा लगाउदै सेमिफाइनलमा स्थान पक्का गरे ।








Facebook Comments