
काठमाडौं । नेपाली कांग्रेसमा नियमित महाधिवेशन कि विशेष महाधिवेशन भन्नेमा बहस भइरहेकै अवस्थामा दुवै पक्षमा आ–आफ्नो पक्षमा माहौल देखाउन भेला बोलाईरहेको सन्दर्भमा आज नियमित महाधिवेशन पक्षधरहरुले राजधानीमा विशेष भेला आयोजना गरेका छन् ।
नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य रञ्जित कर्णको नेतृत्वमा आज बिहान साढे ११ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो । महाधिवेशनको बिषयमा कांग्रेसको संस्थापन पक्ष र इतर पक्षबीच सहमति नजुटेपछि कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा दुवै पक्षले महाधिवेशनको छुट्टाछुट्टै कार्यतालिका पेश गरेपछि कांग्रेसभित्र विवाद कायमै छ ।
केन्द्रीय समितिको मंगलबार बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ सम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका प्रस्ताव गरेपछि संस्थापन पक्षका सहमहामन्त्री महेन्द्र यादवले बैशाख २७ देखि २९ गतेसम्म कार्यतालिका प्रस्तुत गरेपछि कांग्रेसभित्रको विवाद थप गिजोलिएको छ । देशभरिका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले चुनाव अगाडि विशेष महाधिवेशनको माग गरी पार्टी कार्यालयमा हस्ताक्षर समेत बुझाईसकेका छन् ।









Facebook Comments