काठमाडौं । नेपाली कांग्रेसभित्र अहिले अधिवेशन चुनावअघि वा पछि हुने भन्ने विषयमा व्यापक बहस चलिरहेको छ। पार्टीभित्रको यो अलमल र विवादले गर्दा सिंगो पार्टी अनिर्णयको बन्दी बन्न पुगेको छ। यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अधिवेशनको विषयलाई केवल पार्टीको आन्तरिक झगडाको रूपमा मात्र नहेरी यसलाई देश प्रतिको जिम्मेवारी र वर्तमान अवस्था प्रतिको चिन्तासँग जोडेर हेर्नुपर्नेमा जोड दिएका छन्।

थापाले पार्टीभित्रका सदस्य र बाहिरका नागरिक दुवैलाई सम्बोधन गर्दै अहिलेको अधिवेशनको माग केवल नियमित प्रक्रिया नभई सुधार र पुनर्जागरणको अपरिहार्य शर्त भएको बताएका छन्।

ad

नेपाली कांग्रेसभित्र अहिले अधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने, नियमित गर्ने कि विशेष अधिवेशन गर्ने भन्ने विषयमा व्यापक बहस र झगडा चलिरहेको छ, जसले गर्दा पार्टी अन्योलमा फसेको छ। यस्तो बेला पार्टीका सदस्यहरूलाई पार्टी एक ढिक्का हुनुपर्ने बेलामा किन अलमलमा परेको होला भन्ने लागेको हुन सक्छ भने बाहिरका नागरिकहरूलाई देशमा यत्रो संकट भइरहँदा कांग्रेस किन अधिवेशनको विषयमा अड्किएको होला भन्ने प्रश्न उब्जेको हुन सक्छ। तर, महामन्त्री थापाको भनाइ अनुसार अधिवेशनको विषय यतिमा मात्र सीमित छैन; यसलाई देश प्रतिको जिम्मेवारी बोध, अहिलेको अवस्था प्रतिको चिन्ता र चिन्तन का साथ व्यापक ढंगले हेर्न आवश्यक छ।

भाद्र २३ गतेअघि कांग्रेसको एउटा गति र योजना थियो, तर भाद्र २३ र २४ गते भएको ठूलो उथलपुथलले सबै कुरा परिवर्तन गर्‍यो। त्यो उथलपुथल केवल राज्यबाट भएको दमन वा अवाञ्छित क्रियाकलाप मात्र थिएन। ती दिनहरूमा जेन-जी मात्र होइन, सबै उमेर समूहका नागरिकहरूले भ्रष्टाचार, नातावाद, कृपावाद, अक्षमता र कुशासन का विरुद्धमा व्यापक रूपमा आफ्नो असन्तुष्टि जाहेर गरे। यो असन्तुष्टिले कांग्रेसलाई समेत प्रश्नको घेरामा ल्यायो: "यसको कारणमध्ये एउटा कारण तिमी पनि हौ, नेपाली कांग्रेस पनि हो।" पहिलो पटक कांग्रेसको नेतृत्वमा आन्दोलन नभएर कांग्रेसविरुद्ध नै आन्दोलन भयो। आज हामी संसदको पहिलो पार्टी, सत्ता पक्षबाट हटेर सडकमा आइपुगेका छौं र पार्टीको प्रासंगिकतामाथि प्रश्न उठेको छ। नौजवानहरूले कांग्रेसलाई साहस होइन, सम्झौतासँग; निष्ठा होइन, भ्रष्टाचारसँग; आदर्श होइन, अवसरवादसँग जोडेर हेरिरहेको अवस्था छ।
यो अवस्थामा कांग्रेसले "हामी कहाँ चुक्यौँ? किन चुक्यौँ? कसरी चुक्यौँ? के नगर्नुपर्ने कुरा गर्यौँ? के गर्नुपर्ने कुरा गरेनौँ?" भनेर एकपटक गम्भीर समीक्षा गर्नु अनिवार्य छ। समीक्षा मात्र होइन, गल्तीहरू स्वीकारेर, सच्याएर, र नयाँ संकल्पका साथ "हामी चुक्यौँ तर अब चुक्दैनौँ, अब हामी बदलिन्छौँ" भनेर नागरिकहरूलाई विश्वास दिलाउनु पर्ने बेला आएको छ। यो कुरा नभनिकन नागरिक वर्गबीच जान सकिँदैन र यसैका लागि अधिवेशन अपरिहार्य छ।

थापाले यो कुरा कुनै व्यक्तिलाई दोष दिनका लागि नभनेको बरु कांग्रेसको नेतृत्वको हिस्साको रूपमा आफू पनि कतिपय निर्णयमा भागीदार भएकोले त्यसको जिम्मा लिएर बोलिरहेको स्पष्ट पारेका छन्। पार्टीका सदस्यहरूलाई यो कुनै व्यक्तिको कुरा नभई पार्टीका लागि अनिवार्य शर्त भएकोमा जोड दिएका छन्। पार्टीभन्दा बाहिरका युवा साथीहरूलाई पनि यो छलफललाई नजिकबाट नियाल्न आग्रह गर्दै, यो विषय उनीहरूको सुधारको माग सँग जोडिएको बताएका छन्। अदालत, प्रहरी, अड्डा, प्रशासनलगायत नेपालका सबै संस्थाहरू सुध्रनुपर्छ भन्ने आन्दोलनको मागमध्येको मुख्य कुरा पार्टीहरूको सुधार पनि हो। यदि हामी नसुध्रिकन वा नबदलिनकन उनीहरूको कार्यक्रममा सहभागी हुन गयौं भने त्यो केवल औपचारिकता मात्र हुनेछ। नागरिकले उठाएका कुराहरूलाई बोक्न सक्ने पार्टी बन्नका लागि पहिले आफैं ठिक ठाउँमा बसेर समीक्षा गर्नुपर्छ।
यो अधिवेशनमा कांग्रेसले आफ्नो अहिलेको अवस्थामा भूमिका के हो भन्ने कुरा स्पष्ट पार्नुपर्छ। कांग्रेस राष्ट्रिय शक्ति हो, जसले देशमा जुनसुकै समस्या आउँदा पनि त्यसलाई ऐतिहासिक ढंगबाट हेर्न सक्ने, राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न सक्ने, र व्यक्तिगत तथा पार्टीगत स्वार्थभन्दा माथि उठेर समस्या समाधानका लागि पहल गर्ने सामर्थ्य राख्छ। भाद्र २३ र २४ गतेपछि नेपालमा थप हिंसा वा यथास्थितिको बाटो नभएर संघीय लोकतन्त्र गणतन्त्रात्मक संविधानलाई जोगाउँदै, भूराजनीतिक संवेदनशीलतालाई चलाखीपूर्ण ढंगबाट व्यवस्थापन गर्दै, र सुशासनका लागि थिति बसाल्न उठेका आवाजहरूलाई संस्थागत गर्ने बाटोमा अगाडि बढ्नुपर्छ।

यसका लागि आम नागरिकलाई विश्वास दिलाउनु पर्छ, र सबैभन्दा मुख्य कुरा आन्दोलनमा घाइते भएका वा परिवारका सदस्य गुमाएका साथीहरूलाई उनीहरूको मेहनत खेर गएन भन्ने अनुभूति दिलाउनुपर्छ। यो जिम्मेवारी निर्वाह गर्नका लागि कांग्रेसले अधिवेशनबाट संकल्प गर्नुपर्छ। यो संवाद गर्न, अन्य दल र सरकारसँग कुराकानी गर्न, र जेन-जी मुभमेन्टसँग कुराकानी गर्न सबैभन्दा पहिले नैतिक ताकत चाहिन्छ, जुन समीक्षा र सुधारबाट आउँछ।

अधिवेशनमा आफूलाई बदल्ने संकल्प गर्नुपर्छ। अहिले चलिरहेको नयाँ र पुरानोको बहस मा, कांग्रेसले व्यक्तिगत स्वतन्त्रता, कानुनी राज्य, अवसरको समानता, सामाजिक न्यायजस्ता आफ्ना कालातीत आदर्शहरूलाई सम्मान गर्दै, युवाहरूले उठाएको "के तिमी आफैंले मानेको आदर्श आफ्नो जीवनमा अवलम्बन गरिरहेका छौ कि छैनौ?" भन्ने प्रश्नको जवाफ दिनुपर्छ। यसका लागि बोलेर मात्र हुँदैन, पार्टीभित्र शुद्धीकरण र पुनर्जागरण सहितको ठूलो रिफर्म आवश्यक छ। यत्रो दलीयकरण र संस्थाहरूको भ्रष्टीकरण भएको भन्ने नागरिक आक्रोशलाई सम्बोधन गर्न, कांग्रेसले भ्रष्टाचार र कुशासनबाट पूर्ण रूपमा अलग हुने संकल्प गर्नुपर्छ।

अधिवेशन इलेक्सन (शक्ति) सँग जोडिएको होइन, पर्पस (उद्देश्य) सँग जोडिएको हुनुपर्छ। हामी इलेक्सन जित्ने होइन, जित्न योग्य बन्नुपर्छ। भोट माग्न दौडिने होइन, भोट दिन मन लाग्ने नेपाली कांग्रेस पार्टी बनाउनुपर्छ। तेस्रो कुरा, अधिवेशनले नौजवानसँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्नुपर्छ। युवाहरूले कांग्रेसलाई सत्ता र शक्तिसँग मात्र जोडेर हेरिरहेका गुनासोहरूलाई सम्बोधन गर्न अब उनीहरूको कुरा सुन्नुपर्छ, संवाद गर्नुपर्छ, ठाउँ दिनुपर्छ र सहभागी गराउनुपर्छ।

अधिवेशन गरेर गयौं भने कांग्रेसले गल्ती स्वीकार्‍यो, नागरिकको कुरा सुन्यो, सुधारको संकल्प गर्यो, र नयाँ सुरुवातको वाचा लिएर आयो भन्ने प्रस्टता देखिनेछ। त्यसपछि मात्रै नागरिकसँग संवादको नयाँ ढोका खुल्नेछ र रिसाएका नागरिकहरूले "एक पटक फेरि तिमीलाई मौका दिन्छु" भन्ने अवस्था आउँछ।

केही नेताहरूले यो काम गर्न 'भ्याइँदैन' भन्नुहुन्छ, तर ६ महिना लाग्ने कामलाई दुई महिनामा गर्न सकिँदैन र? इच्छा भयो भने सकिन्छ। पार्टीभित्रको झगडा मिलाउन नसक्ने बहानामा यत्रो ठूलो नागरिक आन्दोलनको मानमर्दन गर्न सकिँदैन। भोट माग्न जाने बेला भइसक्यो भन्नुहुन्छ, तर हामी ठीक ठाउँमा उभियौं भने भोट माग्न जानै पर्दैन, भोट दिने मानिसहरू आफै आउँछन्।

महामन्त्री थापाले केन्द्रीय समितिमा पौष १६ गते अधिवेशन गर्ने प्रस्ताव राखेको बताउँदै, पार्टीको तल्लो तहमा रहेका साथीहरूलाई पनि यो बहसमा भाग लिन र नेताहरूलाई निर्णय गर्न दबाब दिन आग्रह गरेका छन्। उनले अर्को एउटा महत्त्वपूर्ण प्रस्ताव पनि राखेका छन्: यो पटक अधिवेशन मात्र होइन, उम्मेदवार पनि क्रियाशील सदस्यहरूलाई नै छान्ने अधिकार दिनुपर्छ। बुथमा क्षेत्रीय प्रतिनिधि छान्दा नै कसलाई उम्मेदवार देख्न चाहनुहुन्छ भन्ने अधिकार उनीहरूलाई दिनुपर्छ। यदि नेताहरूले पुसभित्र अधिवेशन गर्न सकिँदैन भन्ने ठाउँमा पुग्नुहुन्छ भने, ५४% साथीहरूले हस्ताक्षर गरेर मागेको विशेष अधिवेशनबाट भए पनि आफूलाई नयाँ बनाउने, पुरानो छोड्ने र नयाँ कुरा थप्ने काम गर्नुपर्छ।
थापाले अन्त्यमा यो कुनै व्यक्तिगत वा सत्ता-शक्तिको कुरा नभई पार्टीभित्रको सुधारको खाँचो को आधारमा यो कुरा भनिरहेको स्पष्ट पारेका छन्। "रिफर्म इज नट बिट्रियल। इट इज द हाईएस्ट फर्म अफ लोयल्टी।" पार्टीप्रतिको लोयल्टी र त्योभन्दा पनि अझ देशप्रतिको लोयल्टी बाट प्रेरित भएर यो सुधारको कुरा गरिएको हो, ताकि पार्टीले देशप्रतिको जिम्मेवारी निर्वाह गर्न सकोस्। अहिले नागरिकहरूमा देखिएको अनिश्चितता र डरलाई सम्हाल्ने योग्यता पार्टीले राख्नुपर्छ।

नयाँ पुस्ताले नैतिक आचरणमा शुद्धता, शासनमा पारदर्शिता र परिणाममुखी कार्य, जनसम्पर्कमा ऊर्जाशीलता, व्यवस्थापनमा अब्बलता, र देशलाई डोहोऱ्याउन सक्ने खाका भएको, त्यसप्रति इमान्दार र त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने क्षमता भएको पार्टी खोजेको छ। त्यसका निम्ति अधिवेशनबाट संकल्प गर्दै आजको र भोलिको जिम्मेवारी पूरा गर्ने बाचा गर्नुपर्छ।

अधिवेशनको यो बहसमा सबैले भाग लिनुपर्छ। नेपाली कांग्रेसलाई कहिल्यै मत नदिनेले पनि नेपाली कांग्रेस सुध्रिनुपर्छ भनेर भन्न पाउनुपर्छ र हामीले सुन्नुपर्छ, किनकि पार्टी सबैको हो। मतदातासँग मत माग्ने तर उनीहरूको मनभित्रको कुरा नसुन्ने भन्ने हुँदैन। नागरिकलाई सम्मान गरे मात्र नागरिकले पार्टीको सम्मान गर्छन्। त्यसकारण, भाद्र २४ गतेपछिको आवाजलाई सुन्दै भ्रष्टाचार र कुशासनबाट पूर्ण रूपमा अलग भएर, जवाफदेहिता, पारदर्शिता र शुद्धता का गुणहरू बोकी, संवैधानिक र प्रजातान्त्रिक अधिकारहरूलाई जोगाउँदै, जनताले अपेक्षा गरेको डेलिभरी र पर्फर्मेन्स दिन सक्ने नेपाली कांग्रेस अधिवेशनबाट बनाउनु अहिलेको मुख्य अठोट हुनुपर्छ।