काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जेनजी आन्दोलनमा पक्राउ परेकामध्ये करिब ७० प्रतिशत व्यक्तिको आपराधिक पृष्ठभूमि रहेको तथ्य सार्वजनिक गरेको छ।

परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबारसम्म काठमाडौंबाट पक्राउ परेका १५९ जना मध्ये करिब ७० प्रतिशत व्यक्ति पहिले नै कुनै न कुनै आपराधिक मुद्दामा संलग्न रहेका थिए।

ad

भट्टराईले भने, ‘हामीले १०० जना पक्राउ परेपछि उनीहरूको विगत अध्ययन गरेका थियौं, जसमा ७० प्रतिशत व्यक्तिको आपराधिक पृष्ठभूमि भेटियो।’

उनका अनुसार पक्राउ परेकामध्ये कतिपय हत्यादेखि चोरी, हातहतियार खरखजना, कर्तव्य ज्यान, आपराधिक उपद्रव र अभद्र व्यवहारसम्मका मुद्दामा संलग्न रहेका छन्।

प्रहरीको प्रारम्भिक अनुसन्धानले केही व्यक्ति त हिरासतमा रहेकै बेला निस्केर आन्दोलनमा सहभागी भएका देखाएको छ ।

उदाहरणका रूपमा, धरानका २१ वर्षीय सुरज राई र सोह्रखुट्टेबाट पक्राउ परेका समीर श्रेष्ठ जस्ता व्यक्तिहरू पहिले नै आपराधिक रेकर्डमा सूचीकृत थिए।
श्रेष्ठले त प्रहरीकै पेस्तोल खोसेर गोली चलाएको तथ्य प्रहरीको अनुसन्धानबाट खुलेको छ।

आन्दोलनका क्रममा सिंहदरबारमा एसएलआर हतियार ताक्ने ललितपुरका राजु परियार (सम्राट) विरुद्ध पहिल्यैदेखि ज्यान मार्ने उद्योगसहित ८ वटा मुद्दा दर्ता भएको पाइएको छ।

आन्दोलनमा नाबालकको संलग्नता पनि देखिएको प्रहरीले जनाएको छ।महाराजगञ्ज वृत्तका असई मिलन राय र जवान उत्तम थापाको हत्या घटनामा दुई नाबालकसमेत मुछिएका छन्।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा समेत एक नाबालक पक्राउ परेका छन्। त्यो बैंक शाखाबाट ३८ करोड ४० लाख रुपैयाँ बराबरको नगद र सुन लुटिएको थियो।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार हालसम्म देशभर ३७५ जना पक्राउ परेका छन् र १४१ वटा मुद्दा दर्ता भएका छन्। सबैभन्दा बढी २१८ जना काठमाडौं उपत्यकाबाट पक्राउ परेका छन्।

प्रहरीका अनुसार हाल हिरासतमा रहेका मध्ये १५ देखि २४ वर्ष उमेर समूहका युवाहरू सबैभन्दा बढी छन्।
प्रहरीले हाल पनि आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीमा संलग्न अन्य व्यक्तिहरूको पहिचान र खोजी कार्य जारी राखेको जनाएको छ।