काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपाल पटक–पटक संक्रमणकालीन अवस्थाबाट गुज्रिनुपरेकोप्रति चिन्ता व्यक्त गर्दै आवेगका आन्दोलनहरूले देशलाई स्थायित्व होइन, अस्थिरताको चक्रमा फसाएको बताएका छन्।

बुधबार ललितपुरमा आयोजित ‘राष्ट्रहित सर्वोपरी–२०८२’ कार्यक्रममा बोल्दै उनले करिब हरेक दशकमा दोहोरिने राजनीतिक आन्दोलनले शासन प्रणाली परिवर्तन गरे पनि जनताको जीवनस्तरमा सुधार ल्याउन नसकेको टिप्पणी गरे।

ad

श्रेष्ठले भने, ‘नेपालमा आन्दोलन धेरै भएका छन्। प्रायः १० वर्षको अन्तरालमा कुनै न कुनै आन्दोलन गर्छौं। व्यवस्था फेरिन्छ, तर जनताको अवस्था फेरिँदैन। यही कारण हामी सधैँ संक्रमणकालमै अड्किन्छौँ।’

उनका अनुसार आन्दोलन र अस्थिरताले मुलुकमा दीर्घकालीन योजना कार्यान्वयन हुन नपाउने र हरेक सरकार पुनः सुरुको अवस्थाबाट अघि बढ्ने प्रवृत्ति विकसित भएको छ।

कार्यक्रममा जेन–जी प्रतिनिधि मोनिका निरौलाले दलभित्र नेतृत्व हस्तान्तरण र आन्तरिक रूपान्तरणको आवश्यकता औँल्याइन्। उनले भनिन्, ‘नेतृत्व स्थायित्वमा सीमित हुँदा नागरिकले बाँच्नकै लागि देश छोड्नुपर्ने अवस्था निराशाजनक बनेको छ। परिवर्तनको अर्थ केवल सरकार फेर्ने होइन, सोच र प्रणाली फेर्ने हो।’

कार्यक्रमले राजनीतिक स्थायित्व, पारदर्शिता र नागरिक सहभागितामार्फत राष्ट्रहितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएको आयोजकले जनाएको छ।