
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले दिएको अभिव्यक्तिप्रति तीव्र आपत्ति जनाउँदै नेताहरूले समयको प्रवाहसँगै चल्नुपर्ने चेतावनी दिएका छन्।
बुधबार जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै शाहीले सिटौलाले मंगलबारको बैठकमा महामन्त्री गगन थापामाथि सामाजिक सञ्जालमार्फत पार्टी कब्जा गर्न खोजेको भन्दै गरेको टिप्पणी अनुचित भएको बताए।
शाहीले भने, 'फेसबुकमा एउटा व्यक्तिले स्टाटस लेख्दा देशभर हंगामा भयो भन्नु हचुवाको कुरा हो। जिम्मेवार नेताले सामाजिक सञ्जालका कुरा निकालेर पार्टी नेतालाई ललकार्नु उचित होइन।'
सिटौलामाथि परोक्ष प्रहार गर्दै उनले भने, 'इफ यू आर नट अपडेटेड, यू आर आउटडेटेड।'
उनले थपे, 'हामी चाहे पनि नचाहे पनि सामाजिक सञ्जालबाट अलग हुन सक्दैनौँ। यस्तो गलत दम्भबाट माथि उठौं, नत्र २०६४ सालमा ३७ सिटमा झरे जस्तै यसपालि सात सिटमा झर्नुपर्ने स्थिति आउँछ।'
शाहीले पार्टी नेताहरूलाई आन्तरिक विवाद र आपसी अविश्वासबाट बाहिर निस्केर नियमित अधिवेशनमा ध्यान दिन आग्रह गरे। उनले भने, 'आज होटल–होटलमा बैठक बस्ने, धाकधम्की दिने संस्कारले कांग्रेसलाई अझ कमजोर बनाइरहेको छ। जनताले जतिसुकै ठूला हस्ती भए पनि हराउने शक्ति राख्छन्।'
उनले अन्त्यमा चेतावनी दिँदै भने, 'हामी सबै अतिवादी भएका छौँ। कांग्रेसभित्रको विभाजन रोकिएन भने जनताले हामीमाथि नै फैसला गर्नेछन्।'









Facebook Comments