काठमाडौं । नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीसहित दश घटकले आज एकता भएको घोषणा गरेका छन्। काठमाडौंको भृकुटीमण्डपमा आज एकता घोषणा कार्यक्रम गरेका हुन् ।

एकतापछि नेपाली कम्युनिष्ट पार्टी नामाकरण गरिएको छ । एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्ह भने पाँचकुने तारा रहेको छ ।

ad

माओवादी केन्द्र, एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपाबाट विद्रोह गरेका चिरन पुन समूह, राजु कार्की नेतृत्वको नेकपा समाजवादी, सुवासराज काफ्ले नेतृत्वको समाजवादी पार्टी, नेपाल महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टी, कर्णजित बुढाको नेकपा माओवादी समाजवादी र प्रेम चलाउनेको नेकपा साम्यवादी पार्टी लगायत विभिन्न कम्युनिस्ट घटकहरूले एकता भएको हो । 

एकीकृत पार्टीबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ । एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरुमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।

एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, सङ्गठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबीच सहमति भएको छ । पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरुप हुने उल्लेख छ ।