काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको मंगलबारको बैठकमा महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बीच तीव्र विवाद भएको छ।

बैठकमा बोल्दै सिटौलाले थापामाथि गम्भीर आरोप लगाउँदै पार्टी सचिवालयमार्फत अन्य नेतामाथि सामाजिक सञ्जालमा आक्रमण गरेको बताएका थिए। 

ad

उनले भने, ‘तपाईंले सचिवालयमा मान्छे राखेर हामीलाई खरानी बनाउने चेतावनी सामाजिक सञ्जालबाट दिइरहनुभएको छ। बाँकी नेताहरुलाई सिध्याएर पार्टी कब्जाको सपना देखिरहनुभएको छ।’

सिटौलाको प्रतिवाद जारी रहँदा महामन्त्री थापाले आफ्नो पक्ष स्पष्ट गर्दै, ‘मेरो सचिवालयले कहाँ कसरी बोल्यो यसको प्रमाण दिनुस्, नभए आरोप फिर्ता लिनुस्’ भने।

यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले हस्तक्षेप गर्दै सिटौलालाई प्रमाण नपुगेको खण्डमा आफ्नो भनाइ फिर्ता लिन सुझाए।

अन्ततः सिटौलाले आफ्नो शब्द फिर्ता लिँदै भने, ‘महामन्त्रीले मेरो सचिवालयको होइन भन्नुभयो भने ती शब्द फिर्ता लिन्छु।

बैठकमा यो घटनाले पार्टीभित्रको अन्तरिक मतभेद र दबाबको स्थिति झल्काएको छ।