काठमाडौं । गृह मन्त्रालयले गत भाद्र २३–२४ मा भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा हालसम्म देशभर १४१ वटा मुद्दा दर्ता भएको र ३७५ जना अभियुक्त पक्राउ परेका तथ्यांक सार्वजनिक गरेको छ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेका अनुसार, नेपाल प्रहरीले कार्तिक १७ गतेसम्मको अनुसन्धान र कारबाहीमा उक्त संख्यामा मुद्दा दर्ता र अभियुक्त पक्राउ गरेका हुन्।

ad

क्षेत्रगत विवरणअनुसार, सबैभन्दा बढी काठमाडौं उपत्यकामा ९६ मुद्दा दर्ता भएका छन् भने २१८ जना पक्राउ परेका छन्, जुन कुल संख्याको आधाभन्दा बढी हो।

अन्य प्रदेशमा मुद्दा र पक्राउ परेका व्यक्तिहरू यस प्रकार छन्:

बागमती प्रदेश: ११ मुद्दा, ३३ जना

लुम्बिनी प्रदेश: ११ मुद्दा, २९ जना

गण्डकी प्रदेश: ७ मुद्दा, ३२ जना

मधेश प्रदेश: ६ मुद्दा, २१ जना

कोशी प्रदेश: ४ मुद्दा, ३० जना

कर्णाली प्रदेश: ३ मुद्दा, ४ जना

सुदूरपश्चिम प्रदेश: ३ मुद्दा, ८ जना

प्रवक्ता काफ्लेले भने, “पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार तथा हातहतियार खरखजना जस्ता गम्भीर मुद्दा चलाइएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य पनि जारी छ।”

गृह मन्त्रालयले अब पनि अनुसन्धानलाई तीव्र बनाउँदै आन्दोलनका अन्य सहभागीहरूको पहिचान र कानुनी कारबाही गर्ने तयारी गरेको जनाएको छ।