काठमाडौं । नेकपा (एमाले)ले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न आफ्ना सदस्यमाथि कारबाही गर्ने निर्णय गरेको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मार्फत १५ दिनभित्र कारबाहीको विवरण केन्द्रमा बुझाउन निर्देशन दिएका छन्।

ad

अपानिमा भनिएको छ, “भदौ २३ र २४ गतेको जेनजीका नाममा भएको आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा पार्टी वा पार्टीसँग सम्बन्धित जनसंगठनका कुनै सदस्य संलग्न भएको प्रमाणित भएमा सम्बन्धित कमिटीले विधानअनुसार आवश्यक कारबाही गर्नेछ र १५ दिनभित्र सोको जानकारी पार्टी केन्द्रीय कार्यालयमा पठाउनेछ।”

एमालेले उक्त आन्दोलनका क्रममा केही तत्वहरूले शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाएको भन्दै त्यसमा कसको संलग्नता थियो भन्नेबारे प्रारम्भिक तथ्यहरू प्राप्त भइसकेको उल्लेख गरेको छ।

अपानिमा भनिएको छ, “भदौ २३ गते माइतीघरबाट नयाँ बानेश्वर पुग्ने क्रममा संसद् भवन घेर्न, पर्खाल भत्काउन र मुठभेडको अवस्था सिर्जना गर्न उक्साउनेहरू पहिचान भइसकेका छन्।”

पार्टीले आन्दोलनका नाममा भएको तोडफोड र विध्वंसका घटनालाई राजनीतिक रूपमा अस्वीकार्य ठहर गर्दै, त्यसले एमालेको संगठनात्मक छविलाई हानि पुर्‍याएको जनाएको छ।

एमालेले आगामी दिनमा शान्तिपूर्ण राजनीतिक अभ्यास र कानुनी मर्यादाभित्र रहँदै आन्दोलन गर्ने नीति अघि सारेको छ।