
काठमाडौं । जेन–जी आन्दोलनपछि स्थगित भएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) सेवा पुनः सञ्चालनमा आएको छ। यातायात व्यवस्था विभागको ‘ईडीएलभीआरएस’ सर्भर आंशिक रूपमा सञ्चालनमा आएसँगै अब नागरिक एपमार्फतै ट्राफिक जरिवाना हेर्ने र अनलाइन सचेतना कक्षा लिन सकिने भएको हो।
नागरिक एपले आइतबार सार्वजनिक गरेको सूचनामा भनिएको छ, 'अब चालकले ट्राफिक नियम उल्लङ्घन गरेका विवरण, बाँकी जरिवाना र अनिवार्य सचेतना कक्षा सबै एपबाटै सहज रूपमा लिन सक्नेछन्।'
यसअघि सर्भर समस्या देखिएपछि विभागले एपमार्फत ट्राफिकसम्बन्धी सेवा रोकिएको थियो। तर, अब पुनः सञ्चालनमा आएपछि लाइसेन्स नवीकरण, विवरण भेरिफिकेसन र जरिवाना भुक्तानी सबै प्रक्रिया डिजिटल रूपमा गर्न सकिनेछ।
एपमा लाइसेन्स विवरण नदेखिएमा एपलाई पूर्ण रूपमा बन्द गरी पुनः खोल्न सुझाव दिइएको छ। विभागका अधिकारीका अनुसार, डिजिटल ट्राफिक सचेतना प्रणालीले लाइनमा उभिनुपर्ने झन्झट हटाउने र समय बचत गर्ने उद्देश्य राखिएको छ।
विभागका प्रवक्ता पद्मनाभ पोखरेलले भने, 'अब सेवा प्रयोगकर्ताले घरमै बसेर जरिवाना विवरण हेर्न, सचेतना कक्षा लिन र प्रमाणपत्र डाउनलोड गर्न सक्नेछन्। यसले डिजिटल सुशासनलाई सुदृढ पार्नेछ।'
सरकारले हाल सवारीचालक सेवामा सम्पूर्ण प्रक्रिया चरणबद्ध रूपमा अनलाइनमार्फत एकीकृत गर्ने तयारी पनि अघि बढाएको छ।









Facebook Comments