
काठमाडौं । नेकपा (एमाले) ले विधान महाधिवेशनपछि भएका सचिवालय र केन्द्रीय कमिटीका निर्णयहरू समेट्दै नयाँ अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको उक्त निर्देशनमा प्रतिनिधिसभा विघटन, जेनजी आन्दोलन र आसन्न ११औँ महाधिवेशन सम्बन्धी विस्तृत राजनीतिक मूल्यांकन गरिएको छ ।
अपानिमा तत्कालीन प्रधानमन्त्री ओलीले राजीनामा दिएपछि कामचलाउ प्रधानमन्त्रीका रूपमा संसद् बैठकबाट संविधान संशोधन गरी राजनीतिक निकास खोज्ने उद्देश्यले राष्ट्रपतिलाई सिफारिस गरेको उल्लेख गरिएको छ । तर त्यसपछि भएको प्रतिनिधिसभा विघटनले मुलुकलाई जनप्रतिनिधिविहीन अवस्थामा पुर्याउँदै राजनीतिक रिक्तता सिर्जना गरेको एमालेको ठहर छ ।
अपानिमा भनिएको छ, 'प्रतिनिधिसभाको विघटनले जनतामा निहित सार्वभौमसत्तालाई कमजोर बनाएको छ र लोकतन्त्रविरोधी शक्तिलाई उत्साहित बनाएको छ।'
एमालेले उक्त कदमलाई अलोकतान्त्रिक र असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ ।
त्यस्तै, पार्टीले भदौ २३ र २४ गतेका जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग अस्वीकार गर्ने निर्णय गरेको छ । अपानिमा भनिएको छ, 'यस्तो गम्भीर घटनाको छानबिनको जिम्मा राजनीतिक दल, नेता र लोकतान्त्रिक प्रक्रियाप्रति दुराशय राख्ने व्यक्तिलाई दिइनु न्यायिक दृष्टिले अस्वीकार्य छ।'
एमालेले सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरेको छ ।
अपानिमा भनिएको छ, 'अहिलेको आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जबरजस्ती मुछ्ने प्रयास गरिरहेको छ, तर तोडफोड, आगजनी र राष्ट्रविरोधी गतिविधिमा संलग्न व्यक्तिहरूलाई उन्मुक्ति दिलाउन सहयोग पुर्याइरहेको छ । यस्तो आयोगबाट निष्पक्षता अपेक्षित हुन सक्दैन।'
निर्देशनमा महाधिवेशन आयोजनासम्बन्धी निर्णयहरू पनि समावेश छन् ।असोज २९–३१ गतेको केन्द्रीय कमिटी बैठकले पोखरामा ११औँ महाधिवेशन गर्ने निर्णय गरे पनि विषम राजनीतिक परिस्थितिका कारण सचिवालयले काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको अपानिमा उल्लेख छ ।
महाधिवेशनको उद्घाटन सत्र व्यापक जनसहभागिता र राष्ट्रिय एकताको प्रदर्शनका रूपमा काठमाडौंमै आयोजना गरिने तयारी गरिएको एमालेले जनाएको छ । अपानिमा प्रतिनिधि चयन प्रक्रिया, क्षेत्रीय आधार र सदस्यता गणनाका मापदण्डहरू पनि स्पष्ट गरिएको छ ।
एमालेले अपानिमा 'संविधान र लोकतन्त्रको रक्षा, राष्ट्रिय स्थायित्व र विकासका लागि पार्टीको एकता अपरिहार्य' रहेको निष्कर्ष समेत सार्वजनिक गरेको छ ।









Facebook Comments