
काठमाडौँ । लामो समयदेखि नेतामुखी र सत्तामुखी राजनीतिमा रमाएका ठूला कम्युनिस्ट पार्टीहरूभित्र असन्तुष्ट आवाज तीव्र बन्दै गएको बेला 'टाउके नेताविहीन' वाम पुनर्गठनको अभियान अघि बढेको छ । भ्रष्टाचार, कुशासन र अवसरवादका कारण जनआकर्षण गुमाइरहेका पुराना वाम दलका विकल्पस्वरूप नयाँ शक्ति निर्माणको प्रयास सुरु भएको हो ।
भदौ २३ र २४ को जेन(जी) विद्रोह पछि पुराना दल र तिनका नेताहरूको कार्यशैलीले नै जनआन्दोलनको बीउ रोपेको ठहर गर्दै असन्तुष्ट नेताहरूले नयाँ वाम धार बनाउने घोषणा गरेका छन् । यसै सन्दर्भमा नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मंगलबार ‘प्रगतिशील अभियान’को औपचारिक घोषणा गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत अभियान सार्वजनिक गर्दै शर्माले माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलबीचको एकता प्रक्रियाले पुरानो चरित्र दोहोर्याउने खतरा देखिएको कारण आफूहरू वैकल्पिक अभियानमा लागेको बताए ।
कार्यक्रममा सहभागी राम कार्कीले अहिलेको राजनीति किनबेच र अवसरवादमा सीमित भएको भन्दै “प्रतिस्पर्धात्मक र जनमुखी राजनीति” निर्माण गर्नुपर्नेमा जोड दिए । उनले भने, 'नेपालमा अब तीन फोर्स सँगसँगै छन्— एक यथास्थितिवादी, अर्को प्रतिगामी, र हामी — परिवर्तनको बाटो रोज्नेहरू ।'
एकीकृत समाजवादीका नेता घनश्याम भुसाल र माओवादी समाजवादीका नेता नेत्रविक्रम चन्द ‘विप्लव’ पनि सहकार्यका सम्भावना देखिएका छन् । भुसाल समूहका नेता दामोदर अर्यालका अनुसार, 'ओली, प्रचण्ड र माधवविनाको वाम एकता आजको आवश्यकता हो। ती नेताहरूले दशकौंसम्म पार्टीलाई व्यक्तिगत स्वार्थ र सत्ताको साधन बनाए।'
नयाँ पार्टीले जनमुखी नीति, भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता, र आर्थिक पारदर्शितालाई मूल एजेन्डा बनाउने तयारी गरेको छ । भुसालले तयार पार्दै गरेको प्रतिवद्धतापत्रमा लेखिएको छ, 'पार्टीको कुनै सदस्यमाथि भ्रष्टाचार वा अनैतिक आचरणको आरोप लागे तत्काल निलम्बन हुन्छ; सफाइ पाएपछि मात्र पुनः फर्कन पाउँछ।'
त्यस्तै, पुनर्गठित पार्टीले औद्योगिकीकरण, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्यमा राज्यको नेतृत्व, र कृषि उत्पादनमा लगानीको सुनिश्चिततालाई दीर्घकालीन लक्ष्य बनाउने बताइएको छ ।
शर्माको भनाइमा, 'यो अभियान हतारको पार्टी निर्माण होइन, वैचारिक एकता र जनताप्रतिको जवाफदेहीतामा आधारित लामो यात्राको सुरुवात हो।'
यसैबीच, बुधबार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नेपाल समाजवादी पार्टी, चिरन पुन समूह र अन्य वाम धारका दलबीच एकता घोषणा हुँदै छ । काठमाडौँको भृकुटीमण्डपमा हुने एकता समारोहमा सहभागी दलहरूले 'वाम पुनर्गठन अभियान'को औपचारिक घोषणा गर्ने तयारी गरेका छन् ।









Facebook Comments