काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको वर्तमान राजनीतिक सङ्कटको समाधान संविधानकै दायराभित्र खोजिनुपर्ने बताएका छन् ।

आज (मंगलबार) बुटवलमा आयोजित एमाले रूपन्देहीको विस्तारित बैठकलाई सम्बोधन गर्दै नेता पौडेलले प्रतिनिधिसभाको पुनःस्थापनामार्फत संविधानलाई लिकमा ल्याउन सकिने पार्टीको धारणा रहेको स्पष्ट पारे ।

ad

उनका अनुसार अहिले देशमा देखिएको अस्थिरता र अविश्वासको वातावरणलाई तोड्ने उपाय भनेकै संविधानअनुसारको संसद् पुनर्स्थापना र सहमतिको बाटो हो । “संविधानको मार्गबाटै समाधान खोज्नुपर्छ, संविधान बाहिरको बाटोले अझ गम्भीर संकट निम्त्याउँछ,” पौडेलले भने ।

पौडेलले एमालेले सदैव संवैधानिक र लोकतान्त्रिक मूल्यमा आधारित राजनीति गर्दै आएको उल्लेख गर्दै अहिलेको संकट समाधानका लागि सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमाथि तत्कालीन सरकारले लगाएको प्रतिबन्धको प्रसङ्ग उल्लेख गर्दै उनले भने, “सामाजिक सञ्जाल अब जनजीवनको अभिन्न अङ्ग बनिसकेको छ । त्यसलाई नियन्त्रण गर्ने प्रयास गल्ती थियो । तर त्यस आन्दोलनमा घुसपैठ गरी देशव्यापी आगजनी र हिंसात्मक गतिविधि गरिनु पनि त्यत्तिकै दुर्भाग्यपूर्ण हो ।”

उनले आगामी एमालेको ११औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा सफल बनाउन सबै तहका कार्यकर्तालाई सक्रिय भूमिका खेल्न आग्रह गरे ।

पौडेलले अन्त्यमा भने, “हामीले संविधानलाई कमजोर होइन, मजबुत बनाउनुपर्छ । त्यसका लागि संसद् पुनर्स्थापना, राजनीतिक सहमति र जनताको विश्वास नै प्रमुख आधार हुन् ।”