काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य पासाङ शेर्पा बहुविवाह मुद्दामा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पालाई मंगलबार साँझ धुम्बाराहीबाट पक्राउ गरिएको हो । अदालतको फैसलाअनुसार उनीविरुद्ध कैद सजाय कार्यान्वयनका लागि प्रहरीले खोजी गरिरहेको थियो ।

ad

शेर्पामाथि बहुविवाहको मुद्दा जिल्ला अदालत काठमाडौंले २०७९ साल चैत २३ गते निर्णय गर्दै १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पाटनमा गएका थिए । तर उच्च अदालतले समेत जिल्ला अदालतको फैसला सदर गरेपछि उनी अन्ततः फरार बनेका थिए ।

अदालतको आदेश कार्यान्वयनका लागि प्रहरीले पछिल्लो समय निगरानी बढाएपछि उनी धुम्बाराहीस्थित एक आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् ।

आदिवासी जनजाति आन्दोलनमा सक्रिय रहेका शेर्पा ताप्लेजुङको मिक्वाखोला–५ का स्थायी बासिन्दा हुन् । पार्टीभित्र संगठन विभागमा संलग्न रहेका उनी हालसम्म पनि विभिन्न सामाजिक तथा राजनीतिक कार्यक्रममा देखिँदै आएका थिए ।

प्रहरीका अनुसार शेर्पालाई अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिनेछ । अदालतले अब बाँकी कैद अवधि पूरा गर्न उनलाई कारागार चलान गर्ने तयारी गरेको छ ।

यस घटनाले एमालेभित्र पनि चासो उत्पन्न गरेको छ । पार्टी स्रोतका अनुसार, नेतृत्वले कानूनी प्रक्रिया अघि बढेसँगै शेर्पाको जिम्मेवारी स्थगित गर्नेबारे छलफल थालेको छ ।