काठमाडौं । सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गरी सुशासन र पारदर्शिता कायम गर्ने लक्ष्यसहित तयारी तीव्र पारेको बेला सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारी सञ्चारमाध्यमहरूलाई ‘निर्वाचनमैत्री सामग्री (कन्टेन्ट)’ लाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा आइतबार आयोजित सम्पादकस्तरीय छलफलमा मन्त्री खरेलले निर्वाचन, सुशासन र जेनजी आन्दोलनको भावना अनुरूपका समाचार, फोटो, भिडियो र अडियो सामग्री उत्पादन तथा प्रसारण गर्न निर्देशन दिएका हुन् । 

ad

उनले भने, 'अहिलेको सरकारको पहिलो प्राथमिकता निर्वाचन हो । निर्वाचन समयमै हुन नसके मुलुक फेरि अनिश्चिततामा पर्न सक्छ । त्यसैले सबै सञ्चार माध्यमले जनचेतना अभिवृद्धि र लोकतान्त्रिक अभ्यास सुदृढ गर्ने भूमिकामा रहनुपर्छ ।'

मन्त्री खरेलका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सरकार, राजनीतिक दल र जेन(जी प्रतिनिधिबीच निरन्तर संवाद भइरहेको छ । कात्तिक १२ गते भएको ताजा वार्ताले आगामी फागुन २१ गतेको निर्वाचनको सकारात्मक वातावरण निर्माण गरेको उनले बताए ।

उनले सरकारी सञ्चारमाध्यमहरूलाई 'जबाफदेही पत्रकारिता' को अभ्यास गर्दै सरकारको नीति–कार्यक्रम, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता प्राथमिकतामूलक विषयमा सशक्त रूपमा केन्द्रित हुन अनुरोध गरे । 
मन्त्री खरेलले थपे, 'नागरिक सरकार भएकाले अहिले राजनीतिक दबाबभन्दा माथि उठेर निष्पक्ष, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्न सकिने वातावरण बनेको छ ।'

जेन–जी आन्दोलनका सहिद, घाइते र पीडित परिवारका कथा, अनुभव र आवाजलाई ‘जेनजी भ्वाइस’ शीर्षकमा प्रस्तुत गर्न पनि उनले सम्पादकहरूलाई सुझाव दिए । उनका अनुसार, 'यी कथा जनभावनासँग प्रत्यक्ष जोडिएका छन्, जसले समाजमा सहानुभूति र एकता बढाउँछ।'

छलफलमा सरकारी स्वामित्वका चार सञ्चार संस्थाका सम्पादकहरूले सरकारले सुरु गरेको निर्वाचन तयारी, सुशासनका पहल र जेनजी अभियानसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ सम्प्रेषण गरिरहेको जानकारी दिए । उनीहरूले सूचना प्रवाहका लागि एकद्धार प्रणाली कायम गर्नुपर्ने सुझाव पनि मन्त्रीसमक्ष राखे ।

मन्त्री खरेलले अन्त्यमा भने, 'सरकारले निर्वाचनलाई राष्ट्रिय सहमतिको एजेन्डा मानेको छ । त्यसको सफलताका लागि सञ्चारमाध्यमहरू देशभक्तिको भूमिकामा रहँदै मतदातालाई सही र तथ्यपरक सूचना दिन अग्रसर हुनुपर्छ ।'

सरकारले निकट भविष्यमै निर्वाचन सम्बन्धी जनचेतनामूलक अभियान सुरु गर्ने तयारी गरेको छ, जसमा सरकारी सञ्चारमाध्यमहरूलाई प्रयोग गरिने बताइएको छ ।