काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरुले आज राजधानीमा भेला आयोजना गरेका छन् । काठमाडौंको थापागाउँस्थित थापागाउँ ब्याङ्क्वेटमा भेला सुरु भएको हो ।

भेलामा महामन्त्री गगनकुमार थापा पक्षधर नेताहरुको सहभागिता रहेको छ । विशेष महाधिवेशन पक्षधरहरुले केही दिन अगाडि पार्टीको विशेष महाधिवेशनको माग गर्दै २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए । आगामी मंसिरमा नियमित महाधिवेशनको सम्भावना नरहेको भन्दै उनीहरुले विधानको व्यवस्थाअनुसार विशेष महाधिवेशनको माग गरेका थिए ।

ad

कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षरसहित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ । विशेष महाधिवेशन माग गर्न झण्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर बुझाउँदा पनि कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा विशेष महाधिवेशनबारे छलफल नभएपछि दबाब बढाउन विशेष महाधिवेशन पक्षधरहरुले आज राजधानीमा भेला आयोजना गरेका हुन् ।