काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशन कहिले गर्ने भन्ने विवाद नयाँ मोडमा पुगेको छ । अब सभापति शेरबहादुर देउवा नजिकका नेताहरू पनि आगामी निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

सोमबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको छलफलमा देउवा पक्षका चारजना केन्द्रीय कार्यसम्पादन समिति सदस्यहरूले स्पष्ट रूपमा 'पहिले महाधिवेशन, त्यसपछि निर्वाचन' भन्ने अडान राखेका हुन् ।

ad

यी सदस्यहरू हुन् — फरमुल्लाह मन्सुर, रमेश रिजाल, जिपछिरिङ लामा, र भिष्मराज आङदाम्बे । मन्सुर र आङदाम्बे दुवै कांग्रेसका निर्वाचन सह–महामन्त्री हुन् । उनीहरूले फागुन २१ मा हुने भनिएको निर्वाचनअघि नै नयाँ नेतृत्वको म्यान्डेट लिएर जानुपर्ने बताएका छन् ।

त्यस्तै, अर्की निर्वाचित सह–महामन्त्री डिना उपाध्यायले पनि यसअघि नै महाधिवेशनको विवाद टुंग्याएर नयाँ ऊर्जा र नयाँ टोलीसहित निर्वाचनमा जानुपर्ने बताइसकेकी छन् ।

सोमबारको छलफलमा सहभागी नेताका अनुसार, कांग्रेस नेतृ सुजाता कोइरालाले पनि देउवा नेतृत्वलाई खुलेर चुनौती दिँदै भनिन्,  'पुराना अनुहार लिएर अब चुनावमा जान सकिँदैन, नयाँ पुस्तालाई नेतृत्वमा ल्याएर मात्रै जनतामा जानुपर्छ।'

देउवा पक्षका नेताहरूको यस्तो धारणा आउनु पार्टीभित्रको सन्तुलनमा नयाँ संकेतका रूपमा हेरिएको छ । विगतमा देउवाप्रति निष्ठावान मानिने यी नेताहरू अहिले संस्थापन नेतृत्वको महाधिवेशन ढिलो गर्ने रणनीतिसँग असन्तुष्ट देखिन थालेका छन् ।

कांग्रेसको विधानअनुसार, जब केन्द्रीय कार्यसमिति बैठक बस्न सक्दैन, कार्यसम्पादन समितिले निर्णय लिन्छ र त्यसलाई पछि केन्द्रीय समितिबाट अनुमोदन गरिन्छ । विधानले कार्यसम्पादन समितिमा सभापतिसहित १४ पदाधिकारी र ३१ सदस्य, अर्थात् ४६ सदस्य रहने व्यवस्था गरेको छ । हाल भने यो समिति ३७ सदस्यीय मात्र सक्रिय छ ।

पार्टीभित्रको पछिल्लो बहसले स्पष्ट देखाएको छ — अब महाधिवेशन मिति विवाद केवल संस्थापन र इतर समूहबीचको मात्र रहेन, देउवा पक्षभित्रै पनि नेतृत्व–परिवर्तनको माग उब्जिन थालेको छ ।