
ढाका । बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाले आगामी फेब्रुअरीमा हुने निर्वाचनका लागि उम्मेदवारी दिने बताउनुभएको छ।
दशकौँदेखि देशको अशान्त शक्ति सङ्घर्षमा एक प्रभावशाली व्यक्तित्व रहँदै आउनुभएकी ८० वर्षीया जियालाई उहाँको बङ्गलादेश नेसनलिस्ट पार्टीमा निर्वाचनको नेतृत्व गर्ने अग्रपङ्क्तिको नेताका रूपमा हेरिएको छ।
उहाँको सहभागिताको घोषणा बिएनपीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगिरले गर्नुभएको हो भने उहाँले देशका तीन निर्वाचन क्षेत्रमा चुनाव लड्ने बताइएको छ।
सन् २०२४ को अगस्टमा भएको जनविद्रोहबाट सत्ताच्युत भएकी उहाँकी लामो समयदेखिकी प्रमुख प्रतिद्वन्द्वी शेख हसिनाको नेतृत्वमा वर्षौँ जेल सजाय भोगेकी सम्झौताहीन नेतृको स्वास्थ्य निकै कमजोर रहेको छ ।
तीन पटक बङ्गलादेशको नेतृत्व गरेकी जियालाई हसिनाको सरकारले सन् २०१८ मा भ्रष्टाचारको आरोपमा जेल चलान गरेको थियो । हसिनालाई सत्ताबाट हटाइएको केही समयपछि नै उहाँ गत वर्ष रिहा हुनुभएको थियो ।
उहाँका छोरा ५९ वर्षीय तारिक रहमान (तारिक जिया) पनि सन् २००८ देखि बेलायतमा रहँदै आउनुभएको छ।
हसिनाको पतनपछि रहमानलाई उहाँविरुद्धको सबैभन्दा गम्भीर आरोपबाट मुक्त गरिएको छ। हसिनाको र्यालीमा सन् २००४ मा भएको ग्रिनेड आक्रमणको आरोपमा उहाँलाई उहाँको अनुपस्थितिमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।
दशकौँदेखि बङ्गलादेशको राजनीति जिया र हसिनाबीचको कटु प्रतिद्वन्द्विताले परिभाषित गर्दै आएको छ, जसलाई ’ब्याटल अफ द बेगम्स’ भनिन्छ ।
सन् १९७५ मा हसिनाका पिता, स्वतन्त्रता नेता शेख मुजिबुर रहमान र उहाँको परिवारका अधिकांश सदस्यको ‘कू’ मा भएको हत्यापछि यो प्रतिद्वन्द्विता देखिन थालेको हो।
मुजिबुर रहमानको हत्याको तीन महिनापछि जियाका श्रीमान् तत्कालीन उपसेना प्रमुख जियाउर रहमानले सत्ता आफ्नो नियन्त्रणमा लिनुभएको थियो । उहाँ सन् १९७७ मा राष्ट्रपति बन्नुभएको थियो। उहाँलाई पनि सन् १९८१ मा हत्या गरिएको थियो ।
त्यसबेला दुई सन्तानकी आमा रहेकी ३५ वर्षीया जियाले बीएनपीको नेतृत्व विरासतमा पाउनुभएको थियो ।
सुरुमा सिकारु राजनीतिक नेताका रूपमा नेतृत्वमा आउनुभएकी जिया पछि हसिनाको एक शक्तिशाली प्रतिद्वन्द्वी साबित बन्नुभएको थियो । उहाँले सैनिक तानाशाह हुसेन मुहम्मद इर्सादको बिरूद्ध आन्दोलनको नेतृत्व गर्दै सन् १९९० मा हसिनासँग मिलेर इर्सादलाई अपदस्थ गर्नुभएको थियो ।
त्यसपछि, अर्को डेढ दशकसम्म दुई महिलाहरू पालैपालो सत्तामा रहेका थिए।








Facebook Comments