काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पक्षले माओवादीसँग एकता गर्ने सहमतिपत्रमा हस्तक्षर गरिसकेको छ भने झलनाथ खनाल र घनश्याम भुसाल पक्षले पुरानै पार्टीलाई पुनर्गठन गरी निरन्तरता दिने भएको छ । 

तेस्रो पक्ष भने अध्यक्ष माधवकुमार नेपालसँगै पार्टी एकतामा पनि नजाने र झलनाथ घनश्याम समूहमा पनि नलाग्ने भएको छ । उक्त समूहमा रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अमरबहादुर थापालगायत छन् । 

ad

यसअघि यी नेताहरू अध्यक्ष माधव नेपालको निर्णयमा विमति राखेर बनेको झलनाथ खनाल र घनश्याम भुसाल समूहले शनिबार गरेको भेलामा सहभागी रहेका थिए । स्रोतका अनुसार किसान श्रेष्ठसहित रामकुमारी झाँक्री, डा. वंशीधर मिश्र, होम बुढाथोकी, अमरबहादुर थापा, अर्जुन राई लगायत सयजना जति केही दिनपछि एमालेमा जाने तयारीमा छन् । 

‘हामी आफै पनि शक्ति हौँ तर अरूले हामीलाई देखाएर राजनीति गर्ने अवसर किन दिनु भनेर हामीले यो निर्णय गरेका हौँ,’ श्रेष्ठले भने, ‘हामीलाई एमाले र त्यसको नेतृत्वले ठूलो पद दिनुपर्दैन मिठो बोलिदियो भने एमालेमै पनि फर्कन सक्छौँ ।’