
काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको मिति तोक्ने वा सार्ने विषयलाई लिएर तीव्र रस्साकस्सी सुरु भएको छ । संस्थापन र संस्थापनइतर समूहबीचको आन्तरिक विवाद सतहमा आउँदै जाँदा पार्टीको केन्द्रीय समिति बैठक नै बारम्बार स्थगित हुन थालेको छ ।
गत २८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठक पटक–पटक स्थगित हुँदै आएको छ । आइतबारको बैठक महामन्त्री गगन थापा अनुपस्थित भएपछि फेरि सारिएको छ भने अब बैठक मंगलबारका लागि तोकिएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पदाधिकारी र पूर्वपदाधिकारीबीच सहमति खोज्ने प्रयास गरे पनि निष्कर्ष निकाल्न सकेका छैनन् ।
संस्थापन पक्षले आगामी आमचुनावअघि महाधिवेशन सम्भव छैन भन्दै मिति २१ फागुनपछि सार्ने अडान लिएको छ । तर गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा इतर पक्ष मंसिरमै नियमित वा विशेष महाधिवेशन गर्नुपर्ने मागमा अडिग छ ।
विशेष महाधिवेशनको पक्षमा रहेका नेताहरूले २९ असोजमा केन्द्रीय कार्यालयमै हस्ताक्षर बुझाएर पार्टी नेतृत्वविरुद्ध खबरदारी अभियान थालेका छन् । उनीहरूका अनुसार, देउवा नेतृत्वले महाधिवेशन ढिलो गराउने रणनीति अख्तियार गरेको आरोप छ । यसबीच नेविसंघका पूर्वपदाधिकारी र युवानेताहरूले पार्टीमा कम्तीमा ४० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन् ।
पार्टीभित्र अहिले मिति विवादभन्दा पनि नेतृत्वको वैचारिक र कार्यशैलीगत टकराव गहिरिँदै गएको छ । संस्थापन पक्ष पहिले देशको संकट समाधान, पछि महाधिवेशन भन्ने तर्कमा उभिएको छ भने इतर पक्षले लोकतान्त्रिक पार्टीमा निर्वाचन टार्न मिल्दैन भन्दै दबाब बढाइरहेको छ ।
महामन्त्री थापाले मंसिर २७–२९ का मिति प्रस्ताव गरेका छन् भने विश्वप्रकाश शर्माले पुस १६–१९ बीच महाधिवेशन गर्नुपर्ने सुझाव दिएका छन् । तर कुनै पनि प्रस्तावमा सहमति जुट्न सकेको छैन ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि थापा–शर्मा समूहले अहिलेको नेतृत्व परिवर्तनको आवश्यकता औंल्याउँदै आएका छन् । सो आन्दोलनका क्रममा सभापति शेरबहादुर देउवा घाइते भएपछि हाल उपचारका लागि बैंकक पुगेका छन् । देउवाले केन्द्रीय समितिको पहिलो बैठकमै कार्यवाहक जिम्मेवारी उपसभापति खड्कालाई दिएका थिए ।
अहिलेको केन्द्रीय समितिमा संस्थापन पक्षको बहुमत भएकाले उनीहरू सबै निर्णय केन्द्रीय समितिबाटै गराउने रणनीतिमा छन् । इतर पक्ष भने पहिले मिति टुंग्याएर त्यसपछि विस्तृत तयारी गर्नुपर्ने अडानमा छ ।
संस्थापन समूहका नेता र प्रवक्ता डा. प्रकाशशरण महतले भने, 'केन्द्रीय समिति नै हाम्रो सर्वोच्च निकाय हो । बैठकमै नआएर निर्णय टार्ने प्रवृत्ति राम्रो होइन । सबै कुरा संस्थागत प्रक्रियामार्फतै हुन्छ ।'
तर इतर समूहले यो अडानलाई समय खिच्ने राजनीतिक शैली भन्दै विरोध जनाएको छ । महाधिवेशन तालिका नआउँदासम्म गगन थापा पक्षका नेताहरूले पार्टी कार्यालयमै तालाबन्दी र प्रतीकात्मक प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
यसरी, नेपाली कांग्रेसमा अहिले महाधिवेशन तोक्ने र रोक्नेबीचको रस्साकस्सीले पार्टीलाई निर्णायक मोडमा पुर्याएको छ, जसको परिणामले आगामी संगठनात्मक समीकरण र नेतृत्वको भविष्य नै निर्धारण गर्ने देखिन्छ ।









Facebook Comments