काठमाडौं । जेनजी आन्दोलनपछि मुलुक नयाँ चरणमा प्रवेश गर्दै गर्दा आउँदो चुनावका लागि नयाँ दल दर्ता हुने क्रम जारी छ । 

रक्षा बम र युजन राजभण्डारी नेतृत्वमा ‘नेपाल जेनजी फ्रन्ट’ घोषणा भइसकेको छ । अर्कातिर, अमित खनाल ‘उmर्जा’ समूहले ‘जेनजी मुभमेन्ट अलायन्स’ नाममा चुनाव–केन्द्रित अभियान चलाइरहेको छ । यी समूहहरू हाललाई दल दर्ता भन्दा जनचेतना र विचार बहसमा केन्द्रित रहेको बताइन्छ । 

ad

तर सुदन गुरुङ समूह भने प्रत्यक्ष राजनीतिक दलको तयारीमा सक्रिय देखिएको छ । 
सुदन गुरुङ नेतृत्वको समूहले ‘लोकप्रिय अनुहार’ अघि सारेर नयाँ दल खोल्ने गृहकार्यलाई अन्तिम चरणमा पुर्‍याएको बताइन्छ । 

कुलमान घिसिङ नयाँ सम्भावित अनुहार हुनसक्ने आकलन गरिएको छ । गुरुङ पक्षका स्रोतका अनुसार, दल गठनबारे करिब ६० प्रतिशत सहमति भइसकेको छ । तर समूहभित्र तत्काल दल खोल्ने वा आन्दोलनकै रूप जोगाएर अघि बढ्ने भन्ने विषयमा मतभेद रहेको बताइन्छ । कतिपय नेताहरूले ‘जेनजी आन्दोलनको मर्म बचाउन सडकमै रहनुपर्ने’ मत राखे पनि बहुमत नयाँ दल गठनतर्फ उन्मुख भएको देखिन्छ ।

स्रोतका अनुसार, नयाँ दललाई विश्वसनीय र व्यापक बनाउनका लागि चर्चित अनुहारलाई नेतृत्वमा ल्याउने तयारी भइरहेको छ । यस क्रममा ऊर्जामन्त्री कुलमान घिसिङ र पूर्व रास्वपा नेतृ सुमना श्रेष्ठसँग निरन्तर संवाद भइरहेको छ । यीमध्ये कसैले नेतृत्व स्वीकारे पार्टी चाँडै सार्वजनिक गर्ने तयारी गरिएको बताइन्छ ।

काठमाडौंका मेयर बालेन शाहसँग प्रत्यक्ष संवाद नभए पनि उनका सचिवालयका केही व्यक्ति यो समूहसँग निरन्तर सम्पर्कमा रहेको स्रोतले जनाएको छ । त्यसैले, प्रारम्भिक योजनाअनुसार कुलमान घिसिङको नेतृत्वमा, सुमना श्रेष्ठ उपाध्यक्ष र सुदन गुरुङ–सागर ढकालजस्ता युवा नेताहरूको समावेशमा नयाँ पार्टी घोषणा गर्ने तयारी चलिरहेको छ ।

पार्टी गठनका लागि गुरुङ समूहले केही सर्तहरू अघि सारेको छ — ‘एक पद, एक व्यक्ति’ नीति, क्षमताका आधारमा ल्याटरल इन्ट्री प्रणाली, र संविधानवादप्रतिको प्रतिबद्धता । यी प्रस्तावमा सहमति जनाउनेहरूबीच अन्तिम संवाद जारी छ ।

नाम र चिन्हबारे पनि प्रारम्भिक छलफल भइरहेको स्रोतले बतायो । सम्भावित चुनाव चिन्हका रूपमा ‘बिजुलीको बल्ब (चिम)’ प्रस्ताव गरिएको छ ।

एक नेताले भने, ‘अब दुई दिनभित्र नयाँ दलका सबै विस्तृत विवरण सार्वजनिक हुनेछ । आन्दोलनलाई संस्थागत गरेर अब जनताको विश्वास जित्ने राजनीतिक यात्रा सुरु हुँदैछ ।’

गुरुङ समूहले केही समयदेखि प्रदेश र जिल्ला संयोजक तोकेर संगठन सुदृढीकरणमा जुटिरहेको छ । एक प्रदेश संयोजकका अनुसार, ७७ वटै जिल्लाका संयोजकको नाम–सूची केही दिनमै सार्वजनिक हुनेछ ।