
ध्रुवचन्द्र गौतम
अब सबै र तीन बरकी सम्मानित बधू बरमितालाई पर्खिन थाले । उनी के बोल्छिन् र कस्तो निर्णय गर्छिन् । कारण आमाबाबु दाजुहरूलगायत बरहरूले पनि बरमितालाई नै निर्णय गर्न छाडिदिएका थिए । उनले जे निर्णय गर्छिन् त्यो हामीलाई मान्य हुनेछ ।
बरमिता उभिइन् माता–पिता तथा उपस्थित सबैलाई प्रणाम गर्न थालिन् । बरमिता बोल्न थालिन् । उनले भनिन्, ‘आज मेरोसामु एक कठिनतम परिस्थिति उत्पन्न भएको छ । यस्तो परिस्थिति आउला भनेर मैले सपनामा समेत चिताएकी थिइनँ ।’
म आफ्ना सखीहरूसँग वनमा घुम्दै, फलफूल खाँदै, नित्य रमाउँदै, हाँस्दै, खेल्दै समय बिताउँथे । बाल्यकालका ती दिनहरू साँच्चिकै रमाइला थिए । फर्केर आउने भए म पुनः बाल्यकालमा फर्केर जान चाहन्छु ।
त्यसपछि प्रकृतिको नियमअनुसार म कोपिलाबाट फूल बनेँ । मेरा सखीहरू पनि सँगै योवनास्थामा प्रवेश गरे । हाम्रा बीचका कुराकानी फेरिए, हामी हाँसखेल गर्दै अब भावी दुल्हाको कुरा पनि गर्न थाल्यौँ ।
म अन्यभन्दा गम्भीर थिएँ, त्यसकारण विवाहको कुरामा म झर्किन्थेँ । तर मनमा उत्सुकता बनी बिस्तारै उठ्न थालेको थियो ।
त्यस्तैमा एकदिन पिताले मेरा लागि बर खोज्ने कुरा गर्नुभयो र घरबाट निस्कनुभयो । बीचमा मलाई थाहा छैन के–के भयो । पिता बर खोजेर आए भनेर सुनाउँदा घरमा आनन्द छाएको थियो ।
तर मेरा दुई दाइ भने त्यति खुसी देखिनँ । बहिनी बिदा हुन आँटी भनेर चिन्तित भएका होलान् भन्ठानेँ । त्यति ध्यान दिइनँ ।
अब म पिताले खोजेको बरको कल्पना गर्न थालेँ । रमाइलो पनि लाग्यो । यो घरबाट बिदा हुनुपर्छ भन्ने दुःख पनि लाग्यो ।
मलाई के थाहा पिताले खोजेको बरको कल्पनामा डुबेकी मेरो जीवनमा एउटा ठूलो संकट आउँदै छ ।
त्यो संकट आयो एकै दिन । एउटै लग्नमा विवाह गर्न भनेर एकैपटक तीन बरहरू आउनेछन् ।
पहिले–पहिले त मलाई थाहा भएन । म त पिताद्वारा खोजिएको बरको कल्पना गरिरहेको थिएँ ।
को होलान् कस्ता होलान् ?
घरमा हाहाकार मच्चिसकेको रहेछ, जब मलाई मेरा साथीहरूले नानाभाँती कुरा गर्दै जिस्क्याउँदै ठट्टा गर्दै थिए ।
निकै समय बितेपछि घरको खलबल अर्को किसिमको सुनिन थाल्यो । यो त विवाहको रमझमको स्वर होइन ।
के प¥यो होला ? समस्या त्यस्तो सोच्दा नसोच्दै, अप्रत्याशित रूपमा मलाई त्यो खबर सुनाइयो ।
मेरा लागि एक होइन तीन बर आएका छन् ।
दाइहरूले समेत मेरा लागि लागि बर खोजेर आएका रहेछन् । उनीहरूले पनि मेरो हितका लागि नै काम गरेका थिए । तिनको दोष यही थियो । तिनले पिताको भयले यो कुरा प्रकाशित गरेनन् ।
यस्तोमा म के गरूँ ? यत्रो दोधार मलाई भएन । यस्तोमा अब बाँच्न सकिन्न ।
माता–पितालाई अप्ठ्यारोमा पार्नुको साटो त्यस बखत मलाई आफ्नै जीवन नष्ट गर्नु उपयुक्त समाधान लाग्यो र मैले कसैलाई केही नभनेर घरको पछिल्तिरको बगैँचामा चिता बनाएँ र अग्नि प्रज्वलित गरी तत्काल त्यस अग्नि ज्वालामा हामफालेँ ।
त्यसपछि बरहरूले आ–आफ्नो कर्तव्य पालना गरेछन् ।
प्रथमबर दुःखी भएर मेरो मायामा परिसकेको हुनाले तिनले पनि मेरै चितामा हामफालेर आफ्नो प्राण त्यागे ।
दोस्रो बर पनि म भस्म भएकै ठाउँमा मेरै खरानीको थुप्रो अघिल्तिर बसेर आँधी पानी सहेर तपस्या गर्न थाले ।
तृतीय बर पनि कतै एकान्त जंगलमा गएर वैराग्य धारण गरेर तपस्या गर्छु भनेर हिँडे ।
संयोगले तृतीय बरले आफ्नो तप र गुरु सेवाद्वारा सञ्जीवनी जल प्राप्त गरे । यसरी उनको प्रयासले उनको मन्त्रले म पुनर्जीवित भए । मसँगै प्रथम बर पनि जीवित भए ।
तिनैको मेरो जीवनमा अधिकार छ भनेर तीनैको दाबी भयो ।
भलाद्मी मातापिता दाजुहरूले कसैले निर्णय गर्न नसक्दा निर्णयको जिम्मा मलाई नै सुम्पिइएको छ ।
त्यसैले अब म आफ्नो निर्णय सुनाउँछु । ‘मेरा लागि ज्यानै अर्पण गरेर आफ्नो जीवन भस्म पार्ने बरको म सराहना गर्छु । त्यस्तो त्याग कसैले पनि गर्दैन ।’
द्वितीय बर यही घर हुँदाहुँदै पनि, सबै त्याग गरी सन्यासी बनी आँधी, पानी केही नभनी, रोग व्याधिको प्रवाह नगरी यसरी तपस्या गरेर अहोरात्र मेरो भस्मको थुप्रोसामु तपस्या गर्नु मेरा लागि गरिएको त्याग पनि कम छैन ।
तेस्रो बरलाई त के भनूँ ?
उनले कति दुःख पाए होलान् । तर उनले सञ्जीवनी जल प्राप्त गरेर त आज म जीवित भएँ । अरू कसैले यस्तो चमत्कार गर्न सक्दैन ।
तर मेरा लागि गरिएको त्यागको मूल्यांकन गर्ने हो भने कुनैको कम छैन । तिनमा मलाई कोही पनि कम लाग्दैन ।
त्यसकारण अब मेरो निर्णय के छ भने तीनै मेरा लागि बराबर योग्य, बराबर त्यागी र बराबर औचित्यपूर्ण छन् ।
त्यसकारण मेरो अन्तिम निर्णय छ, यी तीनमा मेरा मातापिता, दाइले जुनलाई उचित ठान्नुहुन्छ, तीनमध्ये जुन बरसँग मेरो विवाह गरिदिनुहुन्छ म त्यसैलाई आफ्नो पतिका रूपमा सहर्ष वरण गर्नेछु ।
बरमिताको निर्णय सुनेपछि झन् अन्योल थपियो । कुरा जहाँको तहीँ रह्यो ।
गाउँलेहरूले कोही कुनैलाई योग्य ठाने त कुनै कसैलाई ।
प्रिय पाठक तपाईंहरू पनि अनुमान लगाउनुहोस्, बरमिताका लागि कुन बर के कारणले उपयुक्त छ ? बरमिताको सहायता गर्नुहोस् ।
अर्को अंकसम्मका लागि
बाँकी पछि ।









Facebook Comments