वसन्त लोहनी

सर्वशक्तिमानबाट भगौडा बनेकाहरू
औँला ठडाइरहेका छन्
दाँत किटिरहेका छन् 
रियाल चुहाइरहेका छन् 
सर्वत्र थुक निकालेर बम्किरहेका छन् 
प्रतिशोध !, प्रतिशोध !!,  प्रतिशोध !!!

ad

के हो प्रतिशोध ?
यो शब्दको नै हुर्मत लिने काम गरिरहेका यी ? 
ए !  वीर विजेता, लुटतान्त्रिक नेता हो
भोजनको सर्वेसर्वा भएर अनवरत चरिरहेका
सिंगो मुलुकलाई नै चरन क्षेत्र बनाए यिनले
सधैँ राजनीतिक साहु बनेर पालैपालो कुत खाइरहेका
लोकतान्त्रिक अधिनायकवादी ‘लुट–नेतृत्व’ खतरामा पर्दा
ज्वालामुखी फुटेसरह आक्रोशको लाभारूपी बरबराहट 
अहिले कुतको हिसाब खोज्दा
हाहु भन्दै हुआँहुआँ आवाज निकालेर
प्रतिशोध, प्रतिशोध भन्दै हिँड्ने ?

के हो प्रतिशोध ?
कसले पैसा खाएर बनायो नेपालीलाई भुटानी शरणार्थी ?
यो प्रश्नको कानुनी उत्तर खोज्नु प्रतिशोध हुन्छ ?
पैसा खाएर हदबन्दीको जग्गा किन फुकाएर बेचेको ?
गिरिबन्धुमा यसको उत्तर खोज्दा प्रतिशोध हुन्छ ?  
के प्रतिशोध नहुन लुटेरालाई उन्मुक्ति दिनुपर्ने हो ? 
भ्रष्टाचारलाई नै नयाँ कानुनी राज मान्नुपर्ने हो ?
 
जेन्जी आन्दोलन, एउटा अग्र्यानिक आन्दोलन 
मुलुकलाई माया गर्नेहरूको पीडायुक्त रोदन
निष्कपट, निश्छल अबोध, र निरपराध 
त्यो रोदनयुक्त बोलीलाई गोली दिने
अहिले पानीमाथिको ओभानो बनेका
बालकको हातको लड्डु लुटेर खानेले जस्तो 
दलीय भातृ संगठनका र दूरअपराधीहरूले
जेन्जीको नाम लिएर सम्पदासम्म पनि ध्वस्त पारे
अग्र्यानिक क्रान्ति अहिले केवल संक्रान्ति बनेको ।

समृद्धिको कुरा छोडौँ
विकास नै केको भयो ? 
हो, अविकासको विकास भयो 
जसका विकृतिहरू बनमाराजस्तो पलाएर अनवरत झांगिए 
राष्ट्रिय अर्थतन्त्रलाई सखाप पारिदिए ।

मूलाधार चक्रबाट माथि उठ्न नसकेकाहरू 
एउटै क्लास सधैँ दोहो¥याउनेहरू 
मृतप्रायः एक थान संविधान बोकेर
हेडमास्टर शैलीका यी पापीहरू 
फेरि उठ्छौँ भनिरहेका
किनकि डकार्न पाउनु नै विचार यिनको
घोर अनैतिकले नैतिकताको शिक्षा दिन पाउनु नै अधिकार
खुंखार लुटेरा बनेर इमानको कुरा गर्न सक्नु नै राजनीति ।

तीन अक्षर मिलेर बनाएका भ्रष्टाचारको ओमकार धुन
भ्रष्टाचार संरक्षणको प्रभु
भ्रष्टाचारबाट नै उठेका आफैँ कराइरहेका छन्  –
मैले एक पैसा भ्रष्टाचार गरेको छैन भनेर
यसरी बरबराउन अन्त कहाँ पाइन्छ र ?
केवल पाइन्छ यहाँ राज्य–विधि भताभुंग पारिएको ठाउँमा
त्यसैले प्रतिशोधको हुआँहुआँ गरिरहेका छन्
ठानिरहेका छन् म आफैँ हिँडेर बेच्न सक्छु –
सफेद झुट र बेइमानी अझै
प्रतिशोधको उच्चारणमा ।