
काठमाडौं । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक चन्द्र कुवेर खापुङको कार्यकाल कात्तिक २७ गते ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाशमा जाने दिन नजिकिएसँगै ३३औँ महानिरीक्षक नियुक्तिको दौडधुप चलिरहेको छ । एकै ब्याजीका ३ जना एआईजी र राअबीबाट आएका एकजनासहित चारजना नै आईजीपीको दौडमा सामेल भए पनि वर्तमान चुनावी सरकारले एक नम्बरका एआईजी दानबहादुर कार्कीलाई नै आईजीपी नियुक्ति गर्ने बलियो सम्भावना छ, तर एसएसपीबाट डीआईजीमा हाल सहकारी ठगीमा पुर्पक्षमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेले सबैलाई पन्छाएर उनलाई मात्र बढुवा गरेको पृष्ठभूमिका कारण उनी पछिका एआईजीहरू क्रमशः डा. मनोज केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह सबै दौडधूपमा सक्रिय भएको प्रहरीको उच्चस्रोतले देशान्तरलाई बताएको छ ।
६७ दिन संगठनको नेतृत्व गर्दा शान्तिसुरक्षा कायम गर्न ‘असफल आईजीपी’को कलंक बोकेर खापुङ बिदा हुँदै गर्दा उनको ठाउँ लिनका लागि अहिले चारजना एआईजीहरू लागि परेका छन् ।
एआईजीहरू दानबहादुर कार्की, डा. मनोजकुमार केसी, राजन अधिकारी र सिद्धिविक्रम शाह आईजीपीका दाबेदार हुन् । कार्की, केसी र अधिकारी २०८२ वैशाखमा चन्द्रकुवेर खापुङसँगै एआईजीमा बढुवा भएका थिए भने शाह जेठ १५ मा एकल एआईजीमा बढुवा भएका थिए । कार्की वरीयता सूचीको पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा अधिकारी, तेस्रो नम्बरमा डा. केसी छन् र शाह चौथो नम्बरमा छन् ।
हाल केसी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख छन् भने शाह राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख छन् । त्यस्तै, कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख र अधिकारी मानव स्रोत विकास विभाग प्रमुखको जिम्मेवारीमा छन् ।
कार्कीलाई रवि लामिछाने गृहमन्त्री भएपछि मर्यादा मिचेर एसएसपीबाट डीआईजी बनाइएको थियो । २०८१ जेठमा तत्कालीन प्रहरी प्रमुख कुँवर र गृहमन्त्री लामिछानेबीच राष्ट्रिय अनुसन्धानबाट आएको टोलीलाई नेतृत्वमा पुग्न नदिने सहमतिअनुसार राष्ट्रिय अनुसन्धानबाट वरिष्ठतम हुँदै आएका एसएसपी सिद्धिविक्रम शाहललाई उछिनेर दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई त्यतिबेला डीआईजीमा बढुवा गरिएको थियो । भदौ २४ गते काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख भएर जिम्मेवारी सम्हालेका कार्कीलाई त्यसदिनको आन्दोलनमा गोली चलाउन आदेश नदिएको र बर्दी छाडेर पछि हट्न प्रहरीलाई निर्देशन दिएको सार्वजनिक भएपछि भने विवादमा परेका छन् । उनलाई रोक्नकै लागि अहिले जेनजी आन्दोलन छानबिन समितिसमक्ष उजुरी पनि गरेको बुझिएको छ ।
तर, यसअघि खापुङ वरीयताका आधारमा आईजीपी नियुक्त भएको र वर्तमान सुशीला कार्की नेतृत्वको सरकार चुनाव गराउनकै लागि गठन भएको अवस्थामा नियुक्तिमा चलखेल गर्नेभन्दा पनि वरीयतालाई नै निरन्तरता दिने हो भने स्वाभाविक रूपले एआईजी दानबहादुर कार्की आईजीपी बन्ने निश्चित जस्तै रहेको सुरक्षा मामिलाबारे जानकारहरू टिप्पणी गर्छन् ।









Facebook Comments