काठमाडौं । सहकारी ठगीमा अहिले जेलमा रहेका रवि लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीमा लुसिफरको उपमा पाएका काठमाडौं महानगरका मेयर बालेन र स्टन्टबाजी गर्दै चर्चामा आउने गरेका मन्त्री कुलमान घिसिङ प्रवेश गर्ने तयारी गरेको चर्चा चलेपछि रास्वपामा तरंग उत्पन्न भएको छ । सभापति लामिछानेकै निर्देशनमा बालेन र कुलमानलाई भित्र्याउन रास्वपाका दुई उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्यालले उनीहरूसँग पटकपटक छुट्टाछुट्टै रूपमा गोप्य वार्ता गरेको समाचारस्रोतले जनाएको छ ।

रास्वपाका नेता शिशिर खनालले केही दिनअगाडि सञ्चारकर्मीसँग कुलमानसहित बालेनको टिमका सदस्य, समाजमा महत्वपूर्ण योगदान दिइरहेका युवाहरूलाई पार्टीमा भित्र्याउने विषयमा निरन्तर संवाद भइरहेको खुलासा गरेका थिए । तीन हप्तादेखि विभिन्न चरणमा चलिरहेको छलफलमा दलको नाम, नेतृत्व र संरचनाबारे प्रगति भए पनि पार्टी नेतृत्वका विषयमा सहमति जुट्न नसकेको रास्वपानिकट स्रोतले जनाएको छ । कुलमानलगायत केही व्यक्तिहरू फागुन २१ गते हुने निर्वाचनका लागि नयाँ दल खोल्ने भन्दा पनि रास्वपामै मिसिएर चुनाव लड्ने तयारीमा छन् । उनले सकेसम्म आफू नै रास्वपाको सभापति बनेर चुनावमा होमिने इच्छा व्यक्त गरिरहेका छन् । रास्वपाका केही नेताहरू भने कुलमान र बालेनलाई पार्टीमा प्रवेश गराउँदा नागरिकस्तरले रास्वपा सहकारी ठग, लुसिफर र स्टन्टबाजको पार्टीको रूपमा बुझ्न सक्ने भन्दै विरोध समेत गर्दै आएका छन् ।

ad

केही समयअगाडि राजनीतिक विश्लेषक तथा लेखक सौरभले बालेनलाई लुसिफरको संज्ञा दिएपछि लुसिफरको विषयमा निकै चासो र कौतुहलता बढेको थियो । क्रिश्चियन धर्मग्रन्थमा लुसिफरलाई परमेश्वरको विरुद्ध विद्रोह गर्ने, स्वर्गबाट निष्कासित भएको एक पतीत दूत र दानव भनेर चित्रण गरिएको बताइएको छ ।

पछिल्लो समय रास्वपाले कुलमानलाई भित्र्याउनकै लागि उपसभापतिको संख्या ५ पु¥याउने तयारी गरेको बुझिएको छ । अहिले डीपी अर्याल, स्वर्णिम वाग्ले छन् भने अरू ३ जना थप गर्ने तयारी गरेको छ । यसमा कुलमान र बालेनलाई प्रस्टसँग अफर गरिएको रास्वपाका एक नेताले देशान्तरलाई जानकारी दिए । यसैगरी महिला उपाध्यक्ष पनि थप गर्दा पार्टीमै रहेकी एक नेतृलाई राख्ने बुझिएको छ । फागुनमा महाधिवेशन गर्ने तयारी गरिए पनि अहिले चुनाव हुने भन्दै त्यो मिति भने सार्ने पक्काजस्तै छ । बालेनलाई पार्टीमा आउनका लागि गरिएको आग्रहमा आफू अहिले मेयर हुँदासम्म कुनै पनि जिम्मेवारी नलिने साथ र सहयोग गर्ने बताएको ती नेताले जानकारी दिए । 

छलफलका क्रममा बालेन र कुलमान पक्षले रास्वपाका सभापति लामिछाने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुरमा १ वर्षदेखि कारागारमा रहेकाले मुद्दाको किनारा नलागेसम्म लामिछाने कार्यकारी भूमिका बस्न नहुने सुझाव दिए पनि कार्यकारी भूमिका छाड्न लामिछानेले अस्वीकार गरेको समेत बुझिएको छ । कुलमानको नेतृत्वमा रास्वपा चुनावमा जानुपर्ने प्रस्ताव समेत छलफलका क्रममा आए पनि यसमा सहमति नजुटेको स्रोतको भनाइ छ ।