जेनजीको आन्दोलनपछि मुलुकमा विषम राजनीतिक परिस्थिति सिर्जना भएको वर्तमान अवस्थामा सबै परिवर्तनको नेतृत्व गरेको देशको सबभन्दा जेठो प्रजातान्त्रिक राजनीतिक दल नेपाली कांग्रेसले अन्य सबै प्रमुख पार्टीले चुनावअगाडि नै अधिवेशन गर्ने मिति तोकी तयारीसमेत थालेको अवस्थामा यही विषयलाई लिएर विवाद गरिरहनुले सम्पूर्ण लोकतन्त्रवादी बुद्धिजीवि, समर्थक र शुभचिन्तकहरूले यसलाई कांग्रेसले ‘जगहँसाइ’ गरिरहेको टिप्पणी गर्न थालेका छन् । आन्दोलनको मर्मअनुसार नयाँ नेतृत्वसहित चुनावमा जानुपर्छ भन्ने माग सर्वत्र उठिरहेको बेलामा पनि पार्टीलाई सदैव पुरानो ढर्रामा चलाउने र कब्जा गर्ने संस्थापनपक्षको रणनीतिका कारण वर्तमान अवस्थामा कांग्रेस गुज्रिरहेको सबैले बुझेर पनि बुझपचाइ रहेको तीतो सत्यलाई कसैले नकार्न सक्दैन । यसतर्फ युवाहरूको ध्यानजानु जरुरी भइसकेको छ । 

पार्टीको महाधिवेशन समयमै गरेर परम्परागत राजनीतिक दलबाट आधुनिक दलका रूपमा रूपान्तरित हुँदै नयाँ ऊर्जाका साथ अघि बढ्न कांग्रेसमा तीव्र दबाब बढिरहँदा महाधिवेशन टारेर नेतृत्वमा हालिमुहाली गरिरहने प्रवृत्तिलाई कांग्रेसको संस्थापन पक्षले पछ्याइरहनु पार्टीका लागि घातक हुनसक्ने देखिन्छ । युवा पुस्ताको आन्दोलनले विस्थापित गराएका दलहरूभित्र पार्टी पुनर्गगठन र नेतृत्व पुस्तान्तरणको बहस व्यापक रूपमा सुरु भएको बेलामा कांग्रेसको संस्थापन पक्षले भने नेतृत्व पुस्तान्तरणको मागलाई नजरअन्दाज गर्न खोजेको आभास सबैले गरिरहेका छन् । फागुन २१ गते प्रतिनिधिसभाको चुनाव घोषणा भइसकेको अवस्थामा समयमै महाधिवेशन गरी नयाँ नेतृत्वका साथ पार्टीलाई एकीकृत राख्दै सुदृढ बनाएर र थप सान्दर्भिक बनाई जानुपर्ने अहिलेको अवस्थामा एकापसमा बाझाबाझ गरेर कांग्रेसका नेताहरूले जग हँसाउने काम गरिरहेका छन् । जेन जी आन्दोलनले कांग्रेसमा छिटो महाधिवेशन र नेतृत्व हस्तान्तरणको दबाब बढाएको छ भन्ने कुरालाई बुझपचाएर नेतृत्वमा टाँसिरहने प्रवृत्तिमा देखिएका कांग्रेस नेताहरूले विभिन्न किचलो सिर्जना गरेर पार्टीलाई कमजोर बनाउन खोजिरहेका छन् ।

ad

अहिलेको अवस्थामा पार्टी रूपान्तरण गर्ने विषयमा कांग्रेसले गम्भीरतापूर्वक छलफल अगाडि बढाउनुपर्नेमा त्यो नदेखिँदा कांग्रेसको चेत अझै खुलिनसकेको आभाष भइरहेको छ । अब पनि नसच्चिने हो भने त्यसले पार्टीलाई अप्ठ्यारो पार्नेमा कांग्रेसकै नेता, कार्यकर्ता र शुभचिन्तकहरूले स्वीकार गरेका छन् । निर्वाचनअघि महाधिवेशन सम्पन्न गरी नयाँ नेतृत्वको जोस, जाँगरका साथ निर्वाचनमा होमिनुपर्नेमा महाधिवेशनको विषयमा बखेडा निकालेर रस्साकस्सीमा उत्रिनु पक्कै पनि पार्टीका लागि शुभ संकेत होइन ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाउँदा पनि संस्थापन पक्ष भने चुनावपछि आगामी वैशाखमा मात्रै महाधिवेशनको पक्षमा देखिँदा कांग्रेसमा टकरावको स्थिति देखिएको हो । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा ढिलोमा पुसभित्रै नियमित महाधिवेशन नभए विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा आवाज उठाइरहेका छन् भने नेता शेखर कोइराला नियमित महाधिवेशन मंसिरभित्रै हुनुपर्ने पक्षमा छन् । संस्थापन पक्ष भने नियमित वा विशेष महाधिवेशन टारेर अगाडि बढ्ने मनस्थितिमा देखिँदा पछिल्लोपटक कांग्रेसमा तीव्र कलह झाँगिएको छ । पार्टीभित्र नेतृत्व परिवर्तनको माग चर्किरहँदा पनि अझै पदमा टाँसिइरहने नियत केही कांग्रेस नेताहरूमा देखिनु दुर्भाग्यपूर्ण कुरा हो ।

पार्टीभित्र उठ्दै आएको ‘सच्चिने कि सक्किने’ प्रश्नलाई कांग्रेस नेताहरूले गम्भीर रूपमा लिएको देखिँदैन । जेनजी आन्दोलनपछि विगतका कमीकमजोरीहरूको जिम्मेवारी लिँदै पार्टी पुनर्गठन गर्नुपर्ने यथार्थतालाई भुलेर नेतृत्व हस्तान्तरण गर्न तयार नभई फेरि पनि रजगज गर्न खोज्नुले पार्टीलाई भड्खालोमा लैजानेमा दुई मत हुन सक्दैन । अब पनि आफ्ना कमीकमजोरी र त्रुटिलाई स्वीकार गर्दै युवाहरूको भावना र चाहनालाई बुझ्न नसक्ने दलहरू सिद्धिन तयार भएर बस्नुपर्छ । पार्टीभित्र सिद्धान्त र विधानसम्मत कार्य भन्दा पेलेर जाने प्रवृत्ति बढ्दै जाँदा आन्तरिक लोकतन्त्र खतरामा परेको छ । अब पुरातनवादी शैलीबाट पार्टी चल्दैन भन्ने कुराको हेक्का कांग्रेस नेतृत्वमा हुनु जरुरी भइसकेको छ । कांग्रेसले अबका दिनहरूमा आत्माअवलोकन गर्दै पार्टीलाई बदल्ने दिशातर्फ आफूलाई अग्रसर गराउनु जरुरी देखिन्छ । अब पनि नेतृत्व र कार्यशैली नफेर्ने र अहंकार पालेर बस्ने हो भने आगामी दिनहरूमा निकै अप्ठ्यारो अवस्था आउनसक्ने कुरा कांग्रेसले बुझ्नु जरुरी छ ।