काठमाडौँ । जेन जी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई जिम्मा दिएर पार्टीको प्रथम व्यक्ति बनाई आफू उपचारका लागि सिंगापुर गएपछि अहिले जारी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशन घोषित चुनावभन्दा अगाडि गर्ने कि पछि गर्ने भन्ने विषयलाई लिएर संस्थापन पक्ष र इतरपक्षबीच रस्साकस्सी चलिरहेको छ । २ पटक स्थगित भइसकेको बैठक कसरी अगाडि बढाउने भन्ने विषयमा हिजो शनिबार पदाधिकारी बैठकमा पनि सहमति नभएको एक सहमहामन्त्रीले देशान्तरलाई बताए । इतरपक्षको मंसिरभित्रै नियमित महाधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने माग र संस्थापन पक्षको चुनावपछि मात्र महाधिवेशन गर्ने रणनीति चुनावमा टिकट बाँड्ने खेलका लागि माथापच्ची चलिरहेको बुझेका स्थानीयस्तरका कार्यकर्ताहरूले भने पार्टीको खस्केको शाखलाई सुधार्न नयाँ नेतृत्व अपरिहार्य रहेको देशभरबाट देशान्तरका संवाददातालाई बताइरहेका छन् । यसैबीच, विशेष महाधिवेशनका हस्ताक्षर अभियन्ताहरूले आज गर्ने भनेको विशेष भेला मंगलबार विहानसम्मलाई सारेको अभियानका संयोजक नेता गुरुराज घिमिरेले देशान्तरलाई बताए । हिजो शनिबार नै कार्यवाहक सभापति खड्काले उनीहरूको समूहलाई भेटी विधानमा व्यवस्था भएअनुसार नै गर्ने बताएको घिमिरेले जानकारी दिए । 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जारी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको प्रस्ताव ल्याउने तयारी गर्दा कार्यवाहक सभापति पूर्णबहादुर खड्का महामन्त्रीहरूको प्रस्तावमा नरम देखिए पनि संस्थापन पक्षमै रहेका ‘सात भाइ’ नेताहरूको फन्दाबाट भने उम्किन उनलाई गाह्रो परेको एक राजनीतिक विश्लेषकले देशान्तरलाई बताए । कार्यबाहाक सभापति खड्काले अहिले महामन्त्रीहरूसँग नियमित वार्ता गर्दै आइरहेका छन् भने सातभाइलाई खुसी पार्नका लागि नियमित गुटको बैठक पनि आयोजना गरिरहेका छन् । त्यसैले अहिलेसम्म कांग्रेसको महाधिवेशन कहिले हुन्छ ? भन्ने टुंगो लाग्न सकेको  छैन । जसले गर्दा अस्ति शुक्रबारको बैठक बस्दै नबसी आज आइतबारसम्मलाई स्थगित भएको थियो । आज बस्ने बैठक अघि फेरि एकपटक कार्यतालिकाका विषयमा कार्यवाहक सभापति र महामन्त्रीबीच छलफल हुनेछ । त्यही छलफललाई कुर्दै विशेष महाधिवेशनका लागि दबाब दिने उद्देश्यले आज आइतबार संस्थापनइतर समूहले काठमाडौँमा गर्न लागेको खबरदारी भेला अब मंगलबार मात्रै हुनेछ । 
५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको लामो समयसम्म पनि केन्द्रीय कार्यसमिति बैठकको एजेन्डा नबनेपछि दबाब दिन र कसरी अगाडि बढ्ने भन्ने रणनीति बनाउन भेला बोलाइएको कांग्रेसका एक नेताले जानकारी दिए । 

ad

पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न हिजो शनिबार बसेको कांग्रेस पदाधिकारी बैठक पनि निष्कर्षहीन बन्न पुगेको छ । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले पटक–पटक कार्यवाहक सभापति खड्कासँग केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका पेस गर्ने समय माग गर्दै आए पनि खड्का यसमा सकारात्मक नदेखिँदा कांग्रेसको जारी केन्द्रीय समितिको बैठक प्रभावित बन्दै आएको छ । पार्टीलाई अगाडि बढाउने संगठनात्मक जिम्मेवारी महामन्त्रीको रहे पनि केन्द्रीय समितिको बैठकमा महामन्त्रीले आफ्नो प्रस्ताव राख्न नपाउने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको कांग्रेसका अधिकांश नेताहरूको भनाइ छ । 

संस्थापनइतर पक्षले समयमा नै नियमित महाधिवेशन नहुने हो भने विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राख्दै आएको अवस्थामा संस्थापन पक्षको नियमित र विशेष महाधिवेशन दुवै टार्ने नियत देखिएकै कारण कांग्रेसमा रडाको मच्चिएको एक विश्लेषकले बताए ।  महाधिवेशनको कार्यतालिका पेस गर्न कावा सभापति खड्काले अनुमति नदिएपछि महामन्त्री थापाले बिहीबार केन्द्रीय समितिको बैठक नै बहिष्कार गरेका थिए भने सहमति नजुटेकै कारण शुक्रबारको बैठक बस्दै नबसी स्थगित हुन पुगेको थियो । बिहीबार बैठक सुरु हुनुअघि कार्यवाहक सभापति खड्का, महामन्त्रीद्वय थापा र शर्माबीच सानेपास्थित पार्टी कार्यालयमा भएको अनौपचारिक छलफलमा थापाले कार्यतालिका प्रस्तुत गर्ने तयारी गरे पनि खड्काले आफ्नो समूहभित्र सहमति नजुटेको भन्दै एक दिन पर्खन आग्रह गरेपछि थापा बैठकस्थलबाट बाहिरिएका थिए । 

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गर्दै केन्द्रीय कार्यालयमा बुझाएकाले बढीमा तीन महिनाभित्र अर्थात् पुस मसान्तभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने बाध्यता छ ।  संस्थापन पक्षका नेताहरूले चुनाव अगाडि सक्रिय सदस्यताको टुंगो लगाएर विभिन्न तहको अधिवेशन गर्न नसकिने भन्दै मंसिरभित्र नियमित महाधिवेशन सम्भव नरहेको बताउँदै आएका छन् । विशेष महाधिवेशनका लागि देशभरका झन्डै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकिएको छ । मंसिरभित्र विशेष महाधिवेशन पनि नहुने र नियमित महाधिवेशन पनि वैशाखमा गर्ने संस्थापन पक्षको अडान र मंसिरमा महाधिवेशन नभए महाधिवेशन प्रतिनिधिहरूको विशेष भेला बोलाइने संस्थापनइतर पक्षको तयारीले कांग्रेसमा विभाजनको जोखिम बढाएको राजनीतिक जानकारहरू बताउँछन् ।

यसैबीच पार्टीभित्र महाधिवेशनको विवाद पेचिलो बन्दै गएपछि यसलाई टुंग्याउन कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ४ वटा विकल्प अघि सारेका छन् । उनले पार्टीका कार्यवाहक सभापति खड्कालाई भेटेर महाधिवेशनको विवाद टुंग्याउन ४ वटा विकल्प दिएका हुन् ।

शर्माले दिएको पहिलो विकल्पमा कार्यसम्पादनमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर २७–२९ को कार्यतालिका केन्द्रीय समितिमा प्रस्तुत गरेर पारित गर्नुपर्ने रहेको छ । मंसिर मसान्तसम्म नियमित महाधिवेशन आयोजना गर्न समय अपर्याप्त हुँदै गएको ठहर भए विशेष महाधिवेशन मंसिर मसान्तभित्रै गर्नुपर्ने उनको दोस्रो प्रस्ताव छ ।

शर्माको तेस्रो विकल्पमा विधानको १७ (२) बमोजिम नै ४० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिहरूले गरेको लिखित माग सम्बोधन गर्दै मंसिर मसान्तभित्रै महाधिवेशन गर्न सकिने रहेको छ । विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर केन्द्रीय कार्यालयमा दर्ता गराइसकेका छन् । यसमा पनि सहमति नजुटे, युवा प्रवेशको ढोका खोल्न, विशेष भन्दा नियमित उपयुक्त ठहर गर्दै थप समय लिएर नियमित महाधिवेशन नै आयोजना पुस १६ देखि १९ सम्म गर्न उनले चौथो विकल्प दिएका छन् ।