
काठमाडौं । नेकपा एकीकृत समाजवादीको असन्तुष्ट पक्षले बेग्लै भेला आयोजना गरेको छ । काठमाडौंको सुकेधारामा शनिबार केहीबेरदेखि असन्तुष्ट पक्षका नेताहरू छलफलमा जुटेका हुन् ।
हिजो (शुक्रबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले नेकपा माओवादी केन्द्र लगायतसँग एकता गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णयमा सम्मानित नेता झलनाथ खनाललगायत नेताहरूले असन्तुष्टि राखेका थिए । खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन् ।
यसैबीच आगामी रणनीति तय गर्नेगरी आज छलफल चलेको नेताहरूले बताएका छन् । भेलामा अहिलेसम्म ८४ जना नेताहरू पुगेको सहभागी एक नेताले बताए ।
सुकेधारामा भइरहेको छलफलमा नेता खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, अशेष घिमिरे, अर्जुन राई, दामोदर अर्याल, नरेश शाही, लक्ष्मण लम्साल, आरती लामालगायत पुगेका छन् ।
पार्टीका पोलिटब्युरो सदस्य धर्म निरौलाले पार्टीबाट अलग भएको भन्दै अब एक हप्ताभित्र राष्ट्रिय कार्यकर्ता भेला गरी दृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्ने बताए । अलग्गै पार्टी बनाउन भएको भेलाअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘अहिले हामी त्यहाँबाट अलग भएका छौँ । अब कसरी बढ्ने भन्ने सन्दर्भमा आज हामी छलफलमा छौँ, हामी एक हप्ता भित्र राष्ट्रिय कार्यकर्ता भेला गर्छौं । त्यो भेलामा हामी कसरी भन्ने दृष्टिकोणसहितको कार्ययोजना प्रस्तुत गर्छौं र अगाडि बढ्छौँ ।’
उनले अबको नेतृत्व महासचिव घनश्याम भुसालले गर्नुपर्ने नेता झलनाथ खनाल संरक्षक भएर बसेर महासचिव भुसाल संयोजक हुनुपर्ने बताए । ‘हाम्रो संयोजनको जिम्मा हाम्रो वैचारिक नेता घनश्याम भुसालले गरेर जानुपर्छ । अरु कम्रेडहरु पनि हुनुन्छ जो हिजो आदरणीय हुनुहुन्थ्यो उहाँहरु संरक्षक हुनुपर्छ । वैचारिक संरक्षण उहाँहरुको हुनेछ र उहाँहरुको वैचारिक संरक्षणमा हामीहरु अगाडि बढ्ने छौँ,’उनले भने ।
यस्तै, भेलामा सहभागी भएका नेता खनालले सिंगो हुनलाई टुक्रा भएको भन्दै पार्टी गठन र पुनर्गठन हुनु सामान्य प्रक्रिया भएको बताए । ‘टुक्रा भएपछि सिंगो हुन्छ । त्यो सिंगो हुनलाई टुक्रा भएको हो । पुनर्गठन, गठन त प्रोसेस हो । आन्दोलनलाई व्यापक एकतामा पु¥याउनका लागि गरिएको आजको छलफल हो,’ उनले भने ।









Facebook Comments