
काठमाडौं । नेपाल सरकारको सञ्चित कोष झण्डै २ खर्बले ऋणात्मक रहेको छ ।
आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरणअनुसार सरकारको सञ्चित कोष १ खर्ब ९६ अर्ब ३४ करोड ५९ लाखले ऋणात्मक तथा नगद अवस्था ३१ अर्ब ३४ करोड ६१ लाखले ऋणात्मक रहेको हो ।
उक्त विवरण अनुसार सरकारको विभिन्न कोषहरुको मौज्दात एवं एक्स्ट्रा बजेटरी निकायको बांकी मौज्दात रकमको आधारमा नगद तथा बैंक मौज्दात ६५ अर्ब ८१ करोड २६ लाखले धनात्मक रहेको छ ।
महालेखा नियन्त्रक शोभाकान्त पौडेलले अर्थमन्त्री रामेश्वरप्रसाद खनाल समक्ष बुझाएको नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरणमा सो उल्लेख गरिएको छ । महालेखा नियन्त्रक पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २९ बमोजिम आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण अर्थमन्त्री समक्ष पेस गरेका हुन् ।
नेपाल सरकारको सम्पत्तिको एकीकृत वार्षिक विवरण अर्थमन्त्री खनाल समक्ष तथा केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण तथा नेपाल सरकारको चल, अचल सम्पत्ति र दायित्वको एकीकृत वार्षिक विवरण महालेखा परीक्षकको कार्यालयमा कार्तिक १४ गते पेस गरिएको हो ।
नेपालको संविधान, प्रचलित ऐन र अन्य कानुनको अधीनमा रही संघीय सञ्चित कोषको सञ्चालन महालेखा नियन्त्रक कार्यालयले गर्ने र आर्थिक कार्यबिधि तथा वित्तिय उत्तरदायित्व कानुनको आधारमा एकीकृत वित्तीय विवरण र प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था रहेको छ । सो जिम्मेवारी अनुसार उल्लेखित एकीकृत विवरण तथा प्रतिवेदन कानुनद्वारा निर्धारित समयावधि भित्रै अर्थमन्त्रीसमक्ष र महालेखापरीक्षकको कार्यालयमा पेस गरिएको हो ।
नेपाल सरकारबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामान तथा महालेखापरीक्षकबाट स्वीकृत लेखा ढाँचाअनुरूप तयार पारिएको प्रस्तुत विवरण तथा प्रतिवेदनमा नेपाल सरकारको बजेट र एक्स्ट्रा बजेटरी निकायका प्रचलित कानुनले तोकेका विवरणहरू समावेश गरिएका छन् ।








Facebook Comments