
काठमाडौं । सरकारले भिजिट भिसामा विदेश जाने मापदण्ड परिमार्जन गरेको छ । विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा विदेश जानेहरुले तीन कागजातसहित ४ वटा सर्त पूरा गर्नुपर्ने बताए ।
शुक्रबार अध्यागमन विभागले पत्रकार सम्मेलन गरी सरकारले मापदण्ड परिमार्जन गरेको र परिमार्जित मापदण्ड शुक्रबार (आज)देखि नै लागू भएको जानकारी दिएको हो । कम्तीमा ६ महिना वैध भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा वा अन अराइभल भिसा हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने उनले बताए ।
प्रस्थान गर्ने गन्तव्यको हवाई टिकट र आवश्यक कागजातका साथै त्यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने स्वघोषणा भए सहजै विदेश जान पाइने तिवारीले बताए ।
यसअघिको व्यवस्थाले नागरिकको थप लागत बढेको भन्दै विभागले मापदण्ड परिमार्जन गरेको जनाएको छ । यसअघिको ६ बुँदे मापदण्ड व्यावहारिक नभएकाले परिमार्जन गरिएको विभागको भनाइ छ ।
तिवारीले नेपाली नागरिक विदेश गएको कुरामा मात्रै नेपालको ध्यान केन्द्रित भएको तर विदेशबाट आउने नागरिकलाई नेपाल घुम्न सक्छौ की सक्दैनौँ भनेर सोध्ने सामथ्र्य नेपालसँग नरहेको बताए । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाएर जानुपर्ने अवस्था रहेको बताउँदै अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्न आवश्यक रहेको तर्क गरे ।
उनले भने, ‘हामीले को नेपाली नागरिक बाहिर जान्छ भन्नेमा मात्रै ध्यान केन्द्रित गरेका छौँ । त्यो नेपाली नागरिकलाई खुइल्याउन हामी पनि पारख भयौँ । विदेशीहरू एउटा भिसा लिएर आएकालाई नेपाल घुम्न सक्छस् कि सक्दैनस् भनेर सोध्ने सामथ्र्य हाम्रो छैन । अध्यागमनलाई सुरक्षाको दृष्टिकोणबाट बलियो बनाउनुपर्छ । अध्यागमनलाई रिडिजाइन, रिथिङ गर्नुपर्छ ।’








Facebook Comments