
काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
रोसले अखिल नेपाल फुटबल संघ (एन्फा) मा औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । उनले गत २०८१ को फागुनमा एक वर्षको सम्झौतासँगै नेपाली टोलीको जिम्मेवारी सम्हालेका थिए । तथापि, एक वर्षको सम्झौता बाँकी भए पनि उनले आठ महिना नपुग्दै राजीनामा दिए ।
यसै सन्दर्भमा एन्फाका महासचिवले रोसको राजीनामा दिएको पुष्टि गर्दै नयाँ प्रशिक्षक नियुक्तिको प्रक्रियामा रहेको जानकारी गराएका छन् । रोसको नेतृत्वमा नेपाली टोलीले ७ अन्तर्राष्ट्रिय म्याच खेल्दा केवल १ खेलमा मात्र जित हासिल गर्यो ।
साथै, दुई खेलमा बराबरी गर्यो भने चार खेलमा हार भोग्नुपर्यो । एसियन कप छनोटको महत्वपूर्ण चरणमा नेपालले मलेसिया र लाओससँग १–१ को बराबरी खेल्दा भियतनामसँग दुई पटक पराजित भएको थियो ।
रोसको कार्यकालमा नेपालले सिंगापुरविरुद्ध निकालेको १–० को जित नै सबैभन्दा राम्रो नतिजा हो । तर, त्यसपछि प्रदर्शन कमजोर हुँदै गयो । भियतनामसँगको खेलमा भने उनले दुई पहेँलो कार्ड पाएका कारण टचलाइनमा समेत उपस्थित हुन पाएनन् ।
रोसले आफ्नो कार्यकालमा युवा खेलाडीलाई अवसर दिने, शारीरिक तन्दुरुस्तीमा सुधार ल्याउने र खेलको रणनीतिक पक्षमा सुधार गर्ने प्रयास गरे । तर, यी सुधारहरू दीर्घकालीन र संरचनागत रूपमा स्थायित्व प्राप्त गर्न असफल भए । उनले नेपाली फुटबलको संरचना र संसाधनको अभावलाई प्रमुख समस्या मानेका थिए ।
नेपालमा पछिल्ला वर्षहरूमा दर्जनौं विदेशी प्रशिक्षकहरूले काम गरेपनि कुनै पनि प्रशिक्षकको कार्यकाल स्थिर रहन सकेको छैन । म्याटको अनुभव र अन्तर्राष्ट्रिय उपलब्धिले पनि नेपालले स्थिर र उत्कृष्ट परिणाम हासिल गर्न सकेन । यसले समस्या प्रशिक्षकमा छ कि फुटबलको संरचनामा भनेर एउटा महत्वपूर्ण प्रश्न पनि उब्जाएको छ ।
यसअघि महिला फुटबल टोलीका प्रशिक्षक प्याट्रिक वाइल्डले पनि एकाएक राजीनामा दिएका थिए । यी घटनाहरूले नेपालका फुटबल प्रशासकहरूलाई यदि संरचना र दीर्घकालीन योजना भएन भने प्रशिक्षक परिवर्तनले मात्र परिणाम सुधार्न सकिदैंन भनेर सोच्न बाध्य बनाएको छ ।








Facebook Comments