
काठमाडौँ । महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) अब नेकपा (माओवादी केन्द्र) सँग एकतामा जाने तयारीमा पुगेको छ। बिहीबार सम्पन्न केन्द्रीय समिति बैठकले औपचारिक रूपमा माओवादी केन्द्रसँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकपछि पार्टीका महासचिव रमेशप्रसाद यादवले पत्रकारहरूसँग कुरा गर्दै भने, “देशको वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै वाम एकताको आवश्यकता महसुस भएको छ। त्यसैले हाम्रो पार्टीले माओवादी केन्द्रसँग एकता प्रक्रियामा जाने निर्णय गरेको हो।”
एकताको खाका तय गर्न र विस्तृत छलफलका लागि नेसपाले तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको छ। अध्यक्ष महिन्द्र राय यादवको संयोजकत्वमा बनेको टोलीमा महासचिव रमेशप्रसाद यादव र सचिवालय सदस्य राजु थापा रहेका छन्।
नेसपाको बैठकले वामपन्थी एकतालाई राष्ट्रिय राजनीति स्थिरता, समावेशिता र संघीयताको सुदृढीकरणका लागि सकारात्मक कदमका रूपमा व्याख्या गरेको छ। पार्टी स्रोतका अनुसार प्रारम्भिक वार्तामा नीति, संगठन संरचना र नेतृत्वको भूमिका निर्धारणबारे छलफल हुनेछ।
यसअघि नेसपाले समाजवादी मोर्चा गठनमा सक्रिय भूमिका खेलेको थियो तर राजनीतिक सहमति नजुटेपछि मोर्चाको गतिविधि थन्किएको थियो। माओवादी केन्द्रसँगको सम्भावित एकता त्यसैको नयाँ रूपमा हेरिएको छ।
पार्टी नेतृत्वका अनुसार, आगामी केही दिनभित्र दुबै पक्षका प्रतिनिधिहरूबीच औपचारिक वार्ता सुरु हुने र सहमति जुटेपछि एकता घोषणा कार्यक्रमको मिति तय गरिनेछ।









Facebook Comments