
काठमाडौँ । आगामी महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने तयारीमा रहेका महामन्त्री गगन थापाले कार्यतालिका राख्ने अनुमति नपाएपछि बिहीबारको केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका छन्।
बैठक सुरु हुनुअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा र महामन्त्री विश्वप्रकाश शर्माबीच सानेपास्थित पार्टी कार्यालयमा अनौपचारिक छलफल भएको थियो। थापाले कार्यतालिका प्रस्तुत गर्ने तयारी गरे पनि खड्काले आफ्नो समूहभित्र सहमति नजुटेको भन्दै एकदिन पर्खन आग्रह गरेपछि उनी असन्तुष्ट बनेर बैठकस्थलबाट बाहिरिएको एक केन्द्रीय सदस्यले जानकारी दिए।
थापा बिहीबार दिउँसो १ बजेअघि नै सानेपा पुगेका थिए। उनले यसअघि नै आगामी महाधिवेशन मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव तयार पारेका थिए। तर, कार्यवाहक सभापतिको अनुमति नपाएपछि उनले बैठकमा प्रस्ताव पेस गर्न पाएनन्।
यसअघि महामन्त्री विश्वप्रकाश शर्माले पनि नियमित र विशेष महाधिवेशनका विभिन्न विकल्प समेटिएको चार बुँदे प्रस्ताव तयार पारेका थिए। थापाको प्रस्ताव पनि त्यसैको विस्तारका रूपमा आएको बताइन्छ। शर्माले विशेष महाधिवेशनका लागि ५४ प्रतिशत केन्द्रीय प्रतिनिधिहरूले असोज २९ गते दिएको निवेदनलाई पनि जोड्दै पार्टीले अब ढिलो नगरी निर्णय गर्नुपर्ने बताएका थिए।
शर्माको प्रस्ताव अनुसार, विशेष महाधिवेशन नबोलाइए नियमित महाधिवेशन पुस महिनासम्म सार्ने, अथवा केन्द्रीय समितिले स्वयम् विशेष अधिवेशन बोलाउने विकल्प प्रस्तुत गरिएको थियो। तर यी प्रस्तावहरू संस्थापन समूहले तत्काल स्वीकार नगर्ने अडान लिँदै बैठकमा कार्यतालिका नै अघि बढ्न नदिएको थापाको भनाइ छ।
थापाले पछिल्लो समय पार्टीभित्र लोकतान्त्रिक अभ्यास कमजोर हुँदै गएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। उनका अनुसार, “महामन्त्रीको जिम्मेवारी पार्टीलाई अगाडि बढाउने हो, तर पदाधिकारीले एउटै मतमा पुग्न नसक्दा हामी आफ्नै बैठकमा प्रस्ताव राख्न पाउँदैनौं भन्ने स्थिति दुर्भाग्यपूर्ण हो।”
नेपाली कांग्रेसभित्र महाधिवेशनको मिति, स्वरूप र नेतृत्वको तयारीलाई लिएर आन्तरिक तानातान तीव्र बन्दै गएको छ।
बीपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केको यही समयसंग जोड्दै थापाले पार्टीले फेरि एकपटक आत्मसमिक्षा र पुनर्संरचनाको बाटो लिनुपर्ने आवश्यकता औंल्याएका छन्।
पार्टीभित्र यस घटनालाई गम्भीर संकेतका रूपमा लिँदै कतिपय नेताहरूले अब संस्थापन र सुधारवादी धारबीच औपचारिक टकराव नजिकिएको मूल्यांकन गरेका छन्।









Facebook Comments