काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नयाँ राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन्। उनले बिहीबार निर्वाचन आयोगमा ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ दर्ताका लागि औपचारिक निवेदन दिएका छन्।

यो नयाँ पार्टीमा ४५ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिएको छ। पार्टीको अध्यक्ष जेनजी पुस्ताका कबीर सोप, वरिष्ठ उपाध्यक्ष अब्दुल खान (जनमत पार्टी परित्याग गरेका नेता), र महासचिव उमाशंकर चौधरी रहेका छन्।

ad

दर्ता निवेदन बुझाएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले पार्टीको नेतृत्व नयाँ पुस्ताका हातमा सुम्पिएको बताए। उनका अनुसार, “हामीले देशको भावनालाई बुझ्ने, पढेलेखेको र समाजका सबै वर्गलाई समेट्न सक्ने जेनजी पुस्ताका कबीर सोपलाई अध्यक्ष बनाएका हौं।”

चौधरीले सोपलाई टिकापुर घटनाका प्रत्यक्ष साक्षीको रूपमा प्रस्तुत गर्दै भने, “उनी चौधरी परिवारका चेलीबेटीका छोरा हुन्, दलित समुदायका सन्तान हुन्, र टिकापुरका घटनाहरू आफ्नै आँखाले देखेका व्यक्ति हुन्। उनी अन्याय, विभेद र राज्यको दमनको प्रत्यक्ष अनुभव बोकेका युवानेता हुन्।”

राजनीतिक वृत्तमा चौधरीको यो कदमलाई जनमत पार्टीसँगको दूरी र नयाँ राजनीतिक संरचना निर्माणको संकेतका रूपमा हेरिएको छ। उनका निकट सूत्रका अनुसार, नयाँ पार्टीले मधेश, थारू र युवा पुस्ताको साझा राजनीतिक धारका रूपमा देशव्यापी अभियान सुरु गर्ने तयारी गरेको छ।

रेशम चौधरी, जो टिकापुर घटनापछि लामो समय जेलमा थिए, पछिल्ला महिनाहरूमा देशभर सक्रिय हुँदै आएका छन्। 

निर्वाचन आयोगले दर्ता प्रक्रिया पूरा भएपछि पार्टीको औपचारिक दर्ता घोषणा गर्ने तयारी गरेको छ।
स्रोतहरूका अनुसार, पार्टीले चाँडै काठमाडौंमा विशेष घोषणा सभा गर्ने योजना बनाइरहेको छ।