
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल फेरि पराजित भएको छ। बिहीबार दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) ले पाँच विकेटले पराजित गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभर पुरा गर्नुअघि नै सबै विकेट गुमाउँदै २३३ रनको योगफल खडा गर्यो। टोलीका कप्तान रोहित पौडेलले १३० बलमा १०९ रन बनाएर उत्कृष्ट प्रदर्शन गरे। उनले पाँच चौका र दुई छक्कासहित करियरको अर्को महत्वपूर्ण पारी खेले। तर बाँकी ब्याटरहरूले ठोस योगदान दिन नसक्दा नेपाल अपेक्षाकृत सानो स्कोरमै सीमित रह्यो।
नेपालका अन्य रन योगदानकर्तामा आसिफ शेख (३५), आरिफ शेख (२७), दीपेन्द्रसिंह ऐरी (२३) र करण केसी (१३) रहेका थिए। बलिङतर्फ यूएईका जाहिद अलीले चार विकेट, जुनैद सिद्धिकीले तीन विकेट, तथा मोहम्मद रोहिद र हैदर अलीले एक–एक विकेट लिए।
२३४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको यूएईले ४३.३ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। यूएईका आर्यन्श शर्माले ९८ बलमा ९८ रनको पारी खेल्दै टोलीलाई जितको बलियो आधार तयार पारे। उनले १० चौका र तीन छक्का प्रहार गरे।
त्यस्तै अलिसान सराफुले ४५, मोहम्मद वासिमले २६, ध्रुव परासरले अविजित १६, र कप्तान राहुल चोपाराले १५ रन बनाए। नेपालका बलरमध्ये सन्दीप लामिछानेले दुई विकेट, जबकि करण केसी र दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे।
यो पराजयसँगै नेपालले लिग–२ मा लगातार दोस्रो हार खेलेको हो। यसअघि नेपाल अमेरिका विरुद्ध १०६ रनले पराजित भएको थियो। लिग तालिकामा नेपालले हालसम्मका १८ खेलबाट १२ अंक मात्र जोडेको छ र सातौँ स्थानमा झरेको छ।
यसैबीच, आजको जितसँगै यूएईले समान खेलबाट ८ अंक जोड्दै अन्तिम स्थानबाट माथि उक्लिने संकेत दिएको छ। अब नेपालले आगामी खेलमा अमेरिका विरुद्ध प्रतिस्पर्धा गर्दै लय फिर्ता ल्याउने प्रयास गर्नेछ।
नेपालका लागि आगामी खेल निर्णायक हुनेछ, किनभने लिगमा आफ्नो सम्भावना जोगाइराख्न अब बाँकी सबै खेलमा जित आवश्यक छ।








Facebook Comments