
काठमाडौं । अन्तरिम सरकारले हालका लागि नयाँ राजदूत नियुक्त नगर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सूचना–सञ्चार मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएका हुन्।
मन्त्री खरेलका अनुसार अहिलेको सरकारको मुख्य दायित्व आसन्न निर्वाचन सम्पन्न गर्नु भएकाले नयाँ राजनीतिक नियुक्ति नहुने स्पष्ट गरिएको हो। “सरकार अन्तरिम स्वरूपमा रहेकाले स्थायी नियुक्ति वा कूटनीतिक पदहरूमा नयाँ व्यक्ति पठाउने निर्णय अहिले उपयुक्त हुँदैन,” उनले भने।
उनका अनुसार हाल राजदूत फिर्ता गरिएका ११ देशका नेपाली दूतावासहरूमा उप–प्रमुख या दोस्रो तहका अधिकारीहरूले नै अस्थायी रूपमा कामकाज सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ। खरेलले केही देशका राजदूतहरूलाई कार्यसम्पादन मूल्याङ्कन र नयाँ राजनीतिक परिस्थितिका कारण फिर्ता गरिएको बताए।
त्यसैगरी बैठकले मोरक्कोमा आगामी मंसिर ८ देखि ११ गतेसम्म हुने ९३औँ इन्टरपोल महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई नेपालको प्रतिनिधि बनाई पठाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्ले विद्युतीय शासन प्रणालीलाई सबल बनाउने उद्देश्यले वैदेशिक रोजगार, अध्यागमन, नागरिकता, सामाजिक सुरक्षा, अदालतका मुद्दा व्यवस्थापन, वैदेशिक अध्ययन अनुमति सेवा र बन्दी पहिचान सम्बन्धी कार्यमा राष्ट्रिय परिचयपत्र प्रणालीमा रहेको तथ्यांकमा सुरक्षित पहुँच उपलब्ध गराउने निर्णय पनि गरेको प्रवक्ता खरेलले जानकारी दिए।
त्यसैगरी सरकारले समरजंग कम्पनी कार्यालयलाई गृह मन्त्रालय अन्तर्गत ल्याएर पुनर्संरचना गर्ने तयारी गरेको छ। त्यसका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति दिने निर्णय गरिएको हो।
सरकारको हालको निर्णयलाई कूटनीतिक वृत्तले राजनीतिक स्थायित्व र निर्वाचन तयारीमा केन्द्रित कदमका रूपमा व्याख्या गरेका छन्। खरेलका शब्दमा, “अहिले सरकारको पहिलो प्राथमिकता शान्तिपूर्ण र निष्पक्ष निर्वाचन हो, त्यसपछि मात्र दीर्घकालीन नियुक्तिहरूका विषयमा निर्णय हुनेछ।”








Facebook Comments