काठमाडौं । कात्तिक १ गतेबाट स्थगित गरिएको कांग्रेस केन्द्रीय समितिको बैठक आजबाट पुनः सुचारु भएको छ । आजको बैठकमा १५ जना नेताहरूले आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।  

भदौ २८ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा सुरुको दिन सभापति शेरबहादुर देउवाले आफ्नो धारणा राखेका थिए। सोही क्रममा उनले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर बैठक तथा पार्टी सञ्चालन गर्ने अधिकार प्रत्यायोजन गरेका थिए।  

ad

त्यसपछि दोस्रो दिनको बैठक असोज ३० गते बसेको थियो। बैठकमा केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्ने क्रम चलिरहेकै बेला कात्तिक १ गते बैठक स्थगित गरिएको थियो।  

त्यसपछि आजबाट बैठक पुनः सुचारु भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरू मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा तामाङ, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक र लक्ष्मी खतिवडाले आफ्नो धारणा राखे । 

यस्तै आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुलीका साथै प्रदेश सभापतिहरू बागमतीका इन्द्रबहादुर बानियाँ र लुम्बिनीका अमरसिंह पुनले पनि धारणा राखेका छन्।  

अब बैठक पुनः भोलि  दिउँसो १ बजे बस्नेगरी आजको बैठक टुंगिएको छ।