
काठमाडौं । कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूविरुद्ध चलाइएका मुद्दाबारे वर्तमान सरकारको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेका छन्। बुधबार कारागारभित्रबाट जारी चार बुँदे सन्देशमार्फत उनले अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफूलाई फसाएको दाबी गर्दै न्यायिक स्पष्टता मागेका हुन्।
लामिछानेले लेखेका छन्, ‘म कुनै फेवर खोजिरहेको छैन, केवल सरकारको धारणा माग्दै छु। हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज पनि त्यसै बोल्नुपर्ने बेला आएको छ।’ उनले अघिल्लो सरकारका कार्यशैलीप्रति आक्रोश व्यक्त गर्दै अहिलेको सरकार मौन बस्नु गैरजिम्मेवार व्यवहार भएको टिप्पणी गरेका छन्।
सन्देशको दोस्रो बुँदामा उनले रास्वपालाई वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्ति एकीकृत गर्ने जिम्मेवारी लिने दलको रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। ‘देशमा नयाँ बाटो खोज्ने दलहरू र व्यक्तिहरूलाई एउटै लक्ष्यमा ल्याउने काम रास्वपाको हो। आवश्यक परे हामी नेतृत्व पनि गर्छौं, त्याग पनि गर्न तयार छौं,’ उनले लेखेका छन्।
तेस्रो बुँदामा लामिछानेले प्रतीकात्मक भाषामा राजनीतिक अवसरवादीहरूलाई चेतावनी दिएका छन्। उनका शब्दमा, ‘एक पटक चिठ्ठा परेकाहरू फेरि परोस् भन्ने सोच राख्छन्, तर संयोग सधैं दोहोरिँदैन। लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन।’
उनका यी वाक्यहरू पछिल्लो समय सत्ता समीकरणमा फेरि अवसर खोज्ने नेतातर्फ लक्षित छन्।
अन्तिम बुँदामा उनले रास्वपालाई दीर्घकालीन राजनीतिक यात्रामा केन्द्रित रहन आह्वान गरेका छन्। ‘हामी क्षणिक फाइदाका लागि होइन, स्थायी परिवर्तनका लागि लडिरहेका छौं। कठिन परिस्थिति आउँदैमा हाम्रो दृढता कमजोर हुँदैन,’ उनले भनेका छन्।









Facebook Comments