काठमाडौँ ।काठमाडौं महानगरपालिका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेको निलम्बन यथावत् रहने भएको छ। उच्च अदालत पाटनले बुधबार पाण्डेको रिट निवेदन खारेज गर्दै उनको निलम्बनलाई वैधानिक ठहर गरेको हो।

न्यायाधीशद्वय डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दायर गरेको रिटमा फैसला सुनाउँदै, महानगरपालिकाको निलम्बन निर्णय कानुनसम्मत रहेको निष्कर्ष निकालेको हो।

ad

नगर प्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज बजगाईँलाई कार्यालय प्रवेशमा अवरोध गरेको आरोपमा पदीय मर्यादा उल्लङ्घन गरेको भन्दै महानगरले केही महिनाअघि उनलाई निलम्बन गरेको थियो। सो निर्णयविरुद्ध पाण्डे अदालत पुगेका थिए।

रिटमा पाण्डेले आफूविरुद्ध गरिएको कारबाही मनपरी र बदनियतपूर्ण भएको दाबी गर्दै निलम्बन तत्काल खारेज गर्न माग गरेका थिए। प्रारम्भिक सुनुवाइमा अदालतले अन्तिम आदेश जारी गर्ने निर्णय गरेपछि उनी हाजिर भएका थिए।

तर अन्तिम सुनुवाइपछि अदालतले महानगरको कदम वैधानिक भएको ठहर गर्दै रिट निवेदन पूर्ण रूपमा खारेज गरेको छ। यससँगै पाण्डे अब पुनः नगर प्रहरी प्रमुखको रूपमा फर्किन पाउने छैनन्।

उच्च अदालतको निर्णयपछि अब पाण्डेको निलम्बन यथास्थितिमा कायम रहनेछ। महानगरले यसअघि निलम्बन अवधिमा उनको कार्यभार अन्य अधिकृतलाई तोकेको थियो।

महानगर स्रोतका अनुसार पाण्डेले पुनःसमीक्षा वा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गर्न सक्ने सम्भावना पनि रहेको छ। तर हालका लागि अदालतको आदेशले महानगरको निर्णयलाई पूर्ण वैधानिक मान्यता दिएको हो।