काठमाडौँ, १२ कात्तिकः असहाय, वृद्धि, अपाङ्ग तथा सामाजिक रुपमा कमजोर वर्गको सहयोगप्रति जागरुकता अभिवृद्धिका विविध कार्यक्रम आयोजना गरेर आज विश्वका विभिन्न देशमा अन्तरराष्ट्रिय सेवाशुश्रूषा दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न मुलुकमा सरकारी तथा गैरसरकारी संस्थाले यो दिवसमा सेवाशुश्रूषामा आफूलाई केन्द्रित गर्न सर्वसाधारणलाई आह्वान गर्दै आएका छन् । आज राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालय र अन्तरराष्ट्रिय श्रम सङ्गठनको अगुवाइमा यी कार्यक्रम हुँदैछन् ।

ad

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वमा सेवाशुश्रूषामा २४ करोड ९० लाख महिला र १३ करोड २० लाख पुरुष संलग्न छन् । सन् २०३० सम्ममा बालबालिका र वृद्धवृद्धाको सङ्ख्या बढ्ने भएकाले उनीहरुको सेवाशुश्रूषा गर्न दुई अर्ब ३० करोड जनशक्ति आवश्यक पर्ने अनुमान गरिएको छ ।  

यसैबीच, 

सक्रिय जीवन पद्धति अँगाल्ने आह्वानका साथ विश्व स्वास्थ्य सङ्गठनलगायत संस्थाको सहयोगमा नेपालसहित विश्वका विभिन्न मुलुकमा आज विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व पक्षाघात दिवस मनाइँदै छ । 

चिकित्सकहरूका अनुसार पक्षाघात एक जटिल शारीरिक समस्या हो  । यो मानव मस्तिष्कको कुनै भागमा रक्तसञ्चार नभएमा हुने गर्छ । मस्तिष्कमा अक्सिजन तथा पोषकतत्वको कमी भएमा रक्त धमनीमा रगत जम्मा भएर अवरोध हुँदा मस्तिष्कले आफ्नो नियन्त्रण गुमाउँछ । यसलाई नै पक्षाघात भनिन्छ ।

समयमै यसको उपचार नगरे मस्तिष्क सधैँका लागि खराब हुनाका साथै व्यक्तिको मृत्युसमेत हुनसक्छ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति गुम्नु पक्षाघातका लक्षण हुन् । 

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुमपान, निष्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गडबड हुँदा पक्षाघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहनुपर्छ ।