
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशनले नयाँ नेतृत्वको मुद्दा सम्बोधन गर्न सक्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत एक भिडिओ वक्तव्य जारी गर्दै उनले आम कार्यकर्ताको भावना र जेन–जी आन्दोलनका क्रममा उठेका मुद्दा सम्बोधन हुने गरेर नियमित महाधिवेशन गर्न आफूले जारी केन्द्रीय समिति बैठकमा विस्तृत प्रस्ताव प्रस्तुत गरेको बताए।
‘आम कार्यकर्ताहरूको मनोबल उच्च पारेर आमनिर्वाचनमा पार्टीलाई अझ प्रभावकारी नतिजा दिन नियमित महाधिवेशन आवश्यक छ भनेर मैले जारी केन्द्रीय समिति बैठकमा विस्तृत लिखित प्रस्ताव प्रस्तुत गरिसकेको छु,’ उनले भनेका छन्।
विगतका उदाहरण हेर्ने हो भने पुस महिनाभित्र यो सम्भव पनि रहेको उनले बताए। अहिलेको कार्य समितिको म्याद थप्न लागिएको त होइन भनेर धेरै कार्यकर्ताबाट आशंकासहितको जिज्ञासा आफूले सामना गरिरहेको भन्दै उनले यसमा आफ्नो समर्थन नरहने बताए।
महासमिति बैठक महाधिवेशन हुने वर्ष नबस्ने व्यवस्थातर्फ संकेत गर्दै केन्द्रीय सदस्य पौडेलले परिवर्तित अवस्थामा जेन–जी आन्दोलनको भावना समेट्दै नीतिगत स्पष्टताका लागि महाधिवेशन आवश्यक रहेको बताए।
वर्तमान कार्य समितिको कार्यकालसमेत सम्पन्न हुन लागेका बेला म्याद थप्ने कुरामा असहमत नेता पौडेलले विशेष महाधिवेशन माग गरेका साथीहरूको चासोसमेत यसले सम्बोधन गर्ने बताए।









Facebook Comments