काठमाडौं । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कास्कीका विभिन्न प्रहरी कार्यालयमा भएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १८ जना पक्राउ परेका छन्। 

भ्रष्टाचार र नेपोबेबीबिरुद्ध तथा सुशासनको माग गर्दै भएको सो आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयहरुमा गरिएको आगजनी, तोडफोड तथा लुटपाटमा संलग्न १० जना तथा प्रहरीको बर्दी दूरुपयोग तथा हुलहुज्जत गर्ने ८ जनालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ। अनुसन्धान गरेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।  

ad

भदौ २३ गते भएको प्रदर्शनमा १९ जना जेनजी आन्दोलनकारीको मृत्यू भएपछि त्यसको भोलिपल्ट देशभरका सरकारी तथा निजी भवनहरुमा आगजनी, तोडफोड र लुटपाट भएको थियो । 

सो क्रममा जिल्ला प्रहरी कार्यालय कास्की मातहतका कार्यालयहरुमध्ये वडा प्रहरी कार्यालय वैदाम, वडा प्रहरी कार्यालय बगर, वडा प्रहरी कार्यालय रामबजार, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, अन्नपूर्ण गाउँपालिकास्थित नयापुल प्रहरी चौकी तथा नदीपुर, प्रस्याङ, हरीचोक, लामाचौर, छोरेपाटनलगायतका ठाउँहरुमा रहेका प्रहरी विटहरुमा आगजनी, तोडफोड तथा लुटपाट भएको थियो । आन्दोलनकारीले कास्की प्रहरी कार्यालय कब्जा गरेर तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरीक्षकको बर्दी लगाएर टिकटक बनाएपछि भाइरल नै बनेको थियो ।  

मंगलबार पत्रकार सम्मेलन गरी कास्की प्रहरीले आगजनी तथा तोडफोडमा संलग्न रहेको भन्दै धादिङका राजेश मक्रान्ती तथा पोखराका नारायण साई, अरुण विक र दीपु साईलाई पक्राउ गरेको बताएको छ । दीपुमाथि हतियार जलाएको आरोप पनि छ ।  

यसैगरी, पोखराका रुपेश मगरलाई वडा प्रहरी कार्यालय बगरमा तोडफोड तथा आगजनी गरेको भन्दै पक्राउ गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ नयापुलस्थित प्रहरी चौकीमा आगजनी, तोडफोड तथा लुटपाट गरेको भन्दै स्थानीय लङबहादुर नेपाली, अरविन विक, ग्रिस क्षेत्री, थमबहादुर सार्की र पूर्णबहादुर नेपालीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले जानकारी दिए । नेपालीमाथि आगजनी, तोडफोड तथा लुटपाटसँगै हतियारसमेत लुटपाट गरेको आरोपमा मुद्दा चलाइएको छ ।  

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप गरी अनुसन्धान जारी राखेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए ।  

त्यस्तै, कास्की प्रहरीले प्रहरीको बर्दी दुरुपयोग तथा हुलहुज्जत गर्ने ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकांश पोखरा महानगरपालिकाका छन् । पोखरा–९ पृथ्वीचोकका अमृत घले, पोखरा–२० मौजाका चन्द्रबहादुर गुरुङ, पोखरा–८ का दिपेश शाही, पोखरा–१६ का सुरेश गुरुङ, पोखरा–२० मौजाका सागर परियार, धादिङ घर भई हाल पोखरा–५ प्रस्याङ बस्ने सागर अधिकारी, पोखरा–५ प्रस्याङका राजेश शाही र धादिङ घर भई हाल पोखरा–प्रस्याङ बस्ने दिपेश शाहलाई पक्राउ गरेर मुद्दा चलाइएको बस्नेतले बताए । तर जिल्ला अदालत कास्कीले ८ जनालाई नै धरौटीमा छाड्न आदेश दिएपछि रिहा गरिएको उनको भनाई छ । उनले आगजनी तथा लुटपाटमा संलग्नहरुलाई पक्राउ गर्ने क्रम अझै चलिरहेको बताए ।