काठमाडौं । नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित आयोगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको हो ।

ad

पार्टीको नाम कम्युनिस्ट पार्टी, नेपाल प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले प्राप्त निवेदन र संलग्न कागजातहरूको अध्ययन गरी आवश्यक प्रक्रिया पूरा भएपछि दल दर्तासम्बन्धी निर्णय लिनेछ । 

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीनबुँदे शान्ति सम्झौता गर्दै भूमिगत राजनीति छाडेर शान्तिपूर्ण मूलधारमा आएको विप्लव नेतृत्वको पार्टीले यसअघि निर्वाचन प्रक्रिया र संसदीय व्यवस्थाको विरोध गर्दै आएको थियो। दल दर्ताको लागि निवेदन दिएपछि विश्वकर्माले जनताले आफ्नो फैसला आफैले गर्ने एउटा विधि निर्वाचन भएकाले आफूले निर्वाचनमा भाग लिन खोजेको बताए ।