
काठमाडौं । दाङका घोराही र सोनापुर सिमेन्ट उद्योग बन्द भएका छन् । नेपाल विद्युत् प्राधिकरणले कात्तिक ४ गते घोराही सिमेन्ट र कात्तिक ७ गते सोनापुर सिमेन्ट उद्योगको विद्युत् आपूर्ति बन्द गरेपछि दुवै उद्योग ठप्प भएका हुन्।
घोराही सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक टन क्लिंकर र आवश्यकताअनुसार सिमेन्ट उत्पादन गर्दै आएको थियो। दैनिक ८५ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहे पनि बजारको मागअनुसार उत्पादन भइरहेको उद्योगका जनसम्पर्क अधिकारी अमर सुवेदीले बताए।
उद्योग बन्द भएपछि ६ सय कामदार र कर्मचारी कामविहीन भएका छन्। कर्मचारीलाई राख्ने वा बिदा गर्ने भन्ने विषयमा अन्योल रहेको सुवेदीले बताए। उनका अनुसार सरकारले कुनै निकास दिने आशामा उद्योग र कर्मचारी प्रतीक्षामा बसेका छन्।
सिमेन्ट उत्पादन बन्द हुँदा बजारका निर्माण कार्यमा असर परेको सुवेदीले बताए। उनका अनुसार यसको मार उपभोक्तालाई नै पर्ने भएकाले सरकारले यसबारे गम्भीर रूपमा सोच्नुपर्ने आवश्यकता छ।
सोनापुर सिमेन्ट उद्योगले दैनिक ३५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो। उद्योग बन्द हुँदा दैनिक ५० लाख रुपैयाँभन्दा बढी घाटा भइरहेको उद्योगका कार्यकारी प्रमुख हरि पाठकले बताए।
उद्योग बन्द भएपछि ३ सय ५० कर्मचारीलाई अर्को सूचना नभएसम्म काममा नआउन भनिएको उनले जानकारी दिए।
पाठकका अनुसार सरकारले ५ प्रतिशत धरौटी राखेर बक्यौता रकम बिस्तारै तिर्ने सहमति भए पनि ऊर्जामन्त्री कुलमान घिसिङले त्यसलाई बदर गर्दै बक्यौता उठाउन प्रक्रिया सुरु गरेपछि उद्योग संकटमा परेको हो। ‘ठूलो राजस्व तिर्ने उद्योगलाई विद्युत् आपूर्तिका नाममा बन्द गर्ने अवस्था राम्रो होइन,’ उनले भने, ‘हामीले कारोबारमा सुधार गर्दै बक्यौता तिर्ने योजना बनाइरहेका थियौं, तर लाइन नै काटिँदा सबै काम ठप्प भयो।’
उद्योग बन्द हुँदा बजारको कारोबार र आर्थिक गतिविधिमा गम्भीर असर परेको दाङ उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले बताए। ‘उद्योग बन्द हुनु दुखद पक्ष हो,’ उनले भने, ‘यसले धेरैको रोजगारी र बजार ठप्प पारेको छ। सरकार जिम्मेवार भएर विकल्प खोज्नुपर्छ।’
घोराही सिमेन्ट उद्योगको ५० करोड ८५ लाख र सोनापुर सिमेन्ट उद्योगको २४ करोड ३० लाख रुपैयाँ विद्युत् बक्यौता रहेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, प्राधिकरणले बिजुली काटेसँगै आठ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको अर्घाखाँची सिमेन्ट उद्योग कात्तिक ४ गतेदेखि बन्द छ।
अर्घाखाँची सिमेन्टले दैनिक ६० हजारभन्दा बढी बोरा उत्पादन गर्दै आएको थियो। प्राधिकरणका अनुसार अर्घाखाँची सिमेन्टको ४४ करोड ८४ लाख रुपैयाँ बक्यौता भुक्तानी गर्नुपर्नेछ।
२०७१ सालमा रूपन्देहीस्थित भैरहवामा स्थापना भएको कम्पनीले ओपीसी सिमेन्ट उत्पादन सुरु गरेको थियो। कम्पनीले २०७६ सालदेखि पीपीसी सिमेन्ट पनि उत्पादन गर्दै आएको छ। दैनिक ३ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उद्योग पछिल्लो समय ६५ प्रतिशत क्षमतामा सञ्चालनमा रहेको थियो।
कम्पनीका प्रशासन प्रमुख अजय भट्टराईका अनुसार प्राधिकरणले बक्यौता नतिरेको भन्दै लाइन काटेपछि उद्योग बन्द भएको हो। ‘कम्पनीले नियमित विद्युत् महसुल तिर्दै आएको थियो,’ उनले भने, ‘तर पुरानो ट्रंकलाइनको महसुल भन्दै प्राधिकरणले ठूलो रकम तिर्नुपर्ने देखाएपछि त्यसको बिल वा उद्योगले प्रयोग गरेको प्रमाण माग्दा नदिई त्यही रकम भुक्तानी नगरेको भन्दै लाइन काटिएपछि कम्पनी बन्द भएको हो।’
कम्पनी बन्द भएपछि उद्योगमा कार्यरत तीन सयभन्दा बढी मजदुरलाई अनिश्चितकालका लागि बिदा गरिएको उनले बताए। उनका अनुसार तत्काल उद्योग बन्द भएको अवस्थामा कुनै निर्णय हुन सकेको छैन र अब सञ्चालन हुने–नहुने कुरा सरकारको निर्णयमा भर पर्नेछ।








Facebook Comments